धनगढी - चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारको माग राख्दै १७ औं पटकको अनसन बस्न डडेल्धुरा पुगेका डाक्टर गोविन्द केसी काठमाडौं फर्किएका छन्।
कार्तिक १७ गतेदेखि डडेल्धुरामा अनसन सुरु गरेका केसीले ९ दिनपछि अर्थात कार्तिक २६ गते अनसन स्थगित गरेका थिए। भारतले निकालेको नयाँ नक्सामा नेपालको लिम्पियाधुरासम्मको भूभाग समेटिएपछि अरु नेपाली नागरिकजस्तै आफू पनि स्तब्ध बनेको भन्दै उनले अनसन स्थगित गरेका थिए।
अनसन स्थगित पछि उपचारका लागि डडेल्धुरा अस्पतालमा राखिएका केसीलाई थप उपचारका लागि २७ गते साँझ सेती प्रादेशिक अस्पतालमा ल्याइएको थियो। बिहीबार केसीको स्वास्थ्यमा सुधार आएपछि उनी काठमाडौं फर्किएका हुन्।
राष्ट्रियताको संवेदनशील विषयमा जनस्तरबाट आवाज उठिरहँदा सबैको संवेदनालाई मनन् गर्दै जारी सत्याग्रह तत्कालका लागि स्थगन गरेको डाक्टर केसीले बताए।
चिकित्सा शिक्षा क्षेत्रमा भएको १० अर्ब ठगीका अभियुक्त लगायतलाई न्यायको कठघरामा ल्याउने जिम्मेवारीबाट सरकार भाग्न नसक्ने उनले बताए। चिकित्सा शिक्षा सुधार तथा सुशासनका लागि लडाइँ जारी रहने र सरकारले माग पूरा नगरे पुनः सत्याग्रहसहितका आन्दोलनका कार्यक्रम ल्याउने डाक्टर केसीले चेतावनी दिए।
डाक्टर केसीले सीमा समस्या समाधानतर्फ गएपछि आफ्ना माग राख्दै फेरी अनसन बस्ने बताए। सरकारले पटकपटक वार्ता गर्ने र सहमती गर्ने गरेपनि कार्यान्वयनमा नआउँदा अनसन बस्न बाध्य हुनुपरेको उनले बताए।
सबै नेपालीले सहज र समान स्वास्थ्य सेवा पाउनुपर्ने र चिकित्सा क्षेत्रमा राजनीति अन्त्य गर्नुपर्नेमा केसीले जोड दिए। प्रधानमन्त्री केपी शर्मा वलीले चाहेमा २ मिनेटमै सबै माग पुरा हुने भएपनि मागप्रति कुनै चासो नदिएको केसीले गुनासो गरे।