काठमाडौं- पूर्व अर्थ राज्यमन्त्री एवम् व्यवसायी रुपज्योति कंसाकारविरुद्ध ठगीको उजुरी दिएर उनलाई थुनाएका विगेन्द्रकृष्ण मल्लले उजुरी फिर्ताका लागि निवेदन दिएका छन्।
यसअघि आफूलाई ठगी गरेको भन्दै मल्लले प्रहरीमा दिएको जाहेरीका आधारमा रुपज्योति र उनकी छोरी प्रहरी हिरासतमा छन्।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले मल्लले उजुरी फिर्ताको लागि निवेदन दिएको जानकारी दिएको छ।
मल्लले आफूले पाउने पर्ने रकम पाएको भन्दै जाहेरी फिर्ताका लागि निवेदन दिएका हुन्।
फिर्ताका लागि निवेदन दिए पनि त्यसबारे कुनै निर्णय नभएको सहन्यायाधिवक्ता चन्द्रकान्त खनालले बताए। ज्योतिविरुद्धको जाहेरी फिर्ता भएमा उनीविरुद्दको मुद्दा अदालतसम्म पुग्नेछैन।
प्रहरीले अनुसन्धान सकेर फाइल जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ।
रुप ज्योतिमाथि अनुसन्धानका लागि प्रहरीले समय मागेपछि जिल्ला अदालत काठमाडौंले पहिलो पटक तीन र दोस्रो पटक पाँच दिन हिरासतमा राख्न अनुमति दिएको थियो।