अछाम - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विद्यालय प्राङ्गण भित्रै चुनावी सभा गरेको भन्दै अछामको एक विद्यालयमा विद्यार्थीले तालाबन्दी गरेका छन्।
जिल्लाको मेल्लेख गाउँपालिकास्थित जनता माविका विद्यार्थीले बिहीबार बिहान विद्यालयमा तालाबन्दी गरेको हो। तालाबन्दीका कारण बिहीबार पनि पढाई प्रभावित भएको छ। विद्यालयमा राजनीतिक कार्यक्रम गरेको बिरोधमा विद्यार्थीले मेल्लेख बजारमा प्रदर्शन गर्दै तालाबन्दी गरेका थिए।
बुधबार चुनावी सभाका कारणले पढाई प्रभावित भएको थियो। मेल्लेख गाउँपालिका-५ बिन्धेवासिनीमा आगामी मंसिर १४ गते उपनिर्वाचन हुँदैछ। मनोनयन दर्ताको दिन नेकपाले विद्यालय प्राङ्गण भित्रै चुनावी सभा आयोजना गरेको थियो। यसअघि पनि पटक–पटक नेकपाले विद्यालयमा कार्यक्रम गर्दै आएको विद्यार्थीले आरोप लगाएका छन्।
यता नेकपाले भने सर्वदलीय बैठकमा सहमती भएर नै विद्यालय प्राङ्गणमा कार्यक्रम गरेको दाबी गरेको छ। सहमती गरे पनि विद्यालय क्षेत्र भित्र कुनै पनि राजनीतिक क्रियाकलाप गर्न पाईदैन।
प्रधानाध्यापक परमानन्द जोशीले विद्यार्थीको तालाबन्दीका कारण बिहीबार पढाई प्रभावित भएको बताए। विद्यालय भित्र राजनीतिक कार्यक्रम गर्नु निर्वाचन आचारसंहिता विपरित कार्य हो।