जनकपुरधाम - राप्रपा (संयुक्त) ले जनकपुरबाट धार्मिक जागरण यात्रा सुरु गरेको छ।
नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्ने माग राख्दै पार्टीले बिहीबार जनकपुरबाट धार्मिक जागरण अभियान सुरु गरेको हो।
अभियान मंसिर ४ गतेसम्म चल्ने राप्रपा (संयुक्त) ले जनाएको छ।
जानकी मन्दिर प्रांगणबाट सुरु भएको जागरण यात्रा चितवनको वाल्मीकि आश्रम हुँदै गौतम बुद्ध जन्मस्थल लुम्बिनी पुगेर सकिने बताइएको छ।
जागरण यात्रा प्रारम्भ गर्न जनकपुर पुगेका केन्द्रीय अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनीले विश्वको एकमात्र हिन्दु राष्ट्र रहेकाले पुनः हिन्दु राष्ट्र स्थापना गराउन जनकपुरदेखि लुम्बिनीसम्म पहिलो चरणको यात्रा सुरु गरिएको जानकारी दिए।
अध्यक्ष राणाले नेपालको धर्मसंस्कृतिमाथि प्रहार गरी धर्म निरपेक्षता घोषणा गरिएको बताउँदै पुनः हिन्दु धर्म स्थापनार्थ जनकपुरदेखि लुम्बिनीसम्म जागरण यात्रा निकालिएको बताए।
अर्का अध्यक्ष डा.लोहनीले नेपाललाई हिन्दु राष्ट्र स्थापना गर्न संविधानमै व्यवस्था हुनुपर्ने जिकिर गरे। विभित्र शक्ति र कांग्रेस तथा नेकपाको षड्यन्त्रका कारण नेपाली जनताले हिन्दु राष्ट्र गुमाउनुपरेको लोहनीको भनाइ थियो।
जागरण अभियान उद्घाटन कार्यक्रममा रेखा थापासमेत पुगेकी थिइन्।