काठमाडौं- आउँदो मङ्सिर १४ गते पालिकाका ४८ पदका लागि हुने उपचुनावमा २८१ जनाको उम्मेदवारी परेको छ ।
निर्वाचन आयोगका अनुसार, ३५ जिल्लाका ४४ पालिकाका विभिन्न ४८ पदका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम शान्तिपूर्ण ढङ्गबाट सम्पन्न भएको छ ।
उपमहानगरपालिकाको प्रमुख–१, गाउँपालिकाका अध्यक्ष–३, गाउँपालिकाका उपाध्यक्ष–१ र गाउँपालिका तथा नगरपालिकाका वडाध्यक्ष–४३ रिक्त पदका उपचुनाव हुँदैछ ।
उम्मेदवार दिनेमध्ये राजनीतिक दलका २१७ र स्वतन्त्र उम्मेदवार ६४ जना रहेको आयोगले जनाएको छ । मनोनयपत्र दर्ता गर्ने महिला उम्मेदवारको सङ्ख्या २६ छ ।
धरान उपमहानगरपालिकामा क–कसको उम्मेद्वारी ?
सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुख पदका लागि नेकपाका तर्फबाट प्रकाश राई र काङ्ग्रेसका तर्फबाट तिलक राईले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।
त्यसैगरी प्रमुख पदकै लागि चार स्वतन्त्र र साना दलले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय जनमुक्ति पार्टीबाट गोकर्ण राई, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अमर इजम, राप्रपा संयुक्तबाट कुमार बराइली र साझा पार्टीबाट राजनकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी अमृत राई, मनराज राई, जनार्दन कोइराला र हर्क साम्पाङले स्वतन्त्र रुपबाट उम्मेदवारी दर्ता गराएका छन् ।
मकालु गाउँपालिकाको अध्यक्षका को को भिड्दैछन् ?
सङ्खुवासभाको मकालु गाउँपालिका अध्यक्ष पदको उपचुनावमा सात वटा पार्टीले उम्मेदवारी दिएको निर्वाचन कार्यालयले जनाएको छ ।
नेकपाबाट तेजबहादुर पोखरेल, नेपाली काङ्ग्रेसबाट विमल पराजुली, राष्ट्रिय जनमुक्ति पार्टीबाट रमेश राई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेघनाथ राई, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बाट मनबहादुर विक, समाजवादी पार्टीबाट नुर्बु शेर्पा र सङ्घीय लोकतान्त्रिक मञ्चबाट कविता राईले उम्मेदवारी दिएको निर्वाचन आयुक्त तिलकबहादुर कार्कीले जानकारी दिए ।
फाल्गुनन्दको अध्यक्षमा आठको उम्मेद्वारी
पाँचथरको फाल्गुनन्द गाँउपालिकाको अध्यक्ष पदमा आठ जनाको उम्मेद्वारी दर्ता भएको छ ।
निर्वाचन अधिकृतको कार्यालय फाल्गुनन्दका अनुसार गाँउपालिकाको प्रमुख पदमा नेपाल कम्युनिष्ट पार्टीबाट (नेकपा) वीरबहादुर कुरुम्बाङ, नेपाली काङ्ग्रेसका वृजहाङ आङ्देम्बे, समाजवादी पार्टीकी विमला आङ्देम्बे, राष्ट्रिय प्रजातन्त्र पार्टीका ससुहाङ चेम्जोङ, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका मोतिप्रसाद लिम्बू, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जीतेन चोम्जोङ, राष्ट्रिय जनमुक्ति पार्टीका इच्छाबहादुर चेम्जोङ र मङ्गोल नेशनल अर्गनाइजेशनका उदय सुनुवारले उम्मेद्वारी दर्ता गराएका हुन् ।
सिके राउतको पार्टीबाट पनि उम्मेदवारी
निर्वाचन प्रक्रियामा पहिलो पटक होमिएको डा सिके राउत नेतृत्वको पार्टीबाट महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष पदमा हुने उपचुनावमा एक महिलाले उम्मेदवारी दिएकी छिन् ।
गाउँपालिकाको अध्यक्ष पदमा डा सिके राउत नेतृत्वको जनमत पार्टीबाट पिपरा गाउँपालिका–५ स्थायी घर भएकी अञ्जनीदेवी मण्डलले उम्मेदवारी दिनुभएको पार्टीका महोत्तरी जिल्ला इञ्चार्ज सञ्जय यादवले बताए ।
जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष र बलवा एवं मटिहानी नगरपालिकाका तीन वटा वडाध्यक्षसहित जम्मा चार पदका लागि ४६ जनाको मनोनयनपत्र दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो । पिपरा गाउँपालिकाको अध्यक्ष पदमा २० जनाको मनोनयनपत्र (उम्मेदवारी) दर्ता भएको छ ।
त्यसैगरी बलवा नगरपालिकाका वडा नं २ र ८ एवं मटिहानी–८ का वडाध्यक्ष पदमासमेत २६ जनाले उम्मेदवारी दर्ता गराएका जिल्लाका मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले जानकारी दिए ।
पिपरा गाउँपालिकामा ११ राजनीतिक दलका र नौ जना स्वतन्त्र गरी २० जनाको उम्मेदवारी दर्ता भएको छ । त्यसैगरी बलवा–२ को वडाध्यक्षमा आठ जना, बलवा–८ को वडाध्यक्षमा १२ जना र मटिहानी–८ को वडाध्यक्षमा छ जनाले उम्मेदवारी दर्ता गराएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
पिपराका निर्वाचित अध्यक्ष विनोदकुमार चौधरी, बलवा–२ र ८ का वडाध्यक्ष क्रमशः राजकुमार साह र लोकेन्द्र महतोको मृत्यु भएर एवं मटिहानी–८ का वडाअध्यक्ष सञ्जयकुमार मण्डलले राजिनामा दिएर रिक्त भएको पदका लागि उपचुनाव हुन लागेको हो ।