काठमाडौं- अख्तियारको टोलीले कृषि सामग्री कम्पनी लिमिटेड, शाखा कार्यालय जनकपुरका स्टोर किपर वरिष्ठ सहायक रामबाबु महतो र शाखा प्रबन्धक आलोक कुमारलाई सरकारी रकम दुरुपयोग गरेको अभियोगमा नियन्त्रणमा लिएको छ।
उनीहरुले धान लिलाम बिक्री गरेबापतको रकम राजश्वमा दाखिला नगरेर हिनामिना गरेको खुलेको अख्तियारका प्रवक्ता प्रदिप कुमार कोइरालाले जानकारी दिए।
कार्यालयको गोदाममा मौज्दात रहेको धानको लिलाम प्रकृया अगाडि बढाइएको कागजात रहेको तथा गोदाम खाली गरी लिलाम भएको भनिएको धानको नगदी रसिद समेतबाट दाखिला गरेको पाइएको कोइरालाले जानकारी दिए।
साथै शाखा प्रबन्धकको कार्यकक्षबाट स्रोत नखुलेको ६८ हजार रकम पनि भेटिएको र उनीहरुमाथि थप अनुसन्धान भैरहेको अख्तियारले जनाएको छ।
यस्तै अख्तियारले राष्ट्रिय अनुसन्धान विभाग जिल्ला कार्यालय सप्तरीमा कार्यरत सूचक धर्मेन्द्रकुमार झा पाँच हजार घुस रकमसहित नियन्त्रणमा लिएको जनाएको छ।
जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिका अन्तर्गतका सिमा नाकामा भन्सार छली सामान ल्याउन सहजीकरण गरेवाफत सेवाग्राहीबाट लिएको घुस रकमसहित झालाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ।
नक्कली सर्टिफिकेटधारी नियन्त्रणमा
डोटीको कफल कटेश्वर प्रा.वि. छतिवनका प्रधानाध्यापक नरबहादुर रावलले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी शिक्षक पदमा नियुक्ति लिएको खुलेको अख्तियारले जनाएको छ।
रावलले माध्यमिक शिक्षा परिषद, क्षेत्रीय कार्यालय, इलाहावादबाट प्राप्त हाइस्कुल तहको झुठ्ठा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी प्रावि पदमा स्थायी नियुक्ति लिएको खुलेको छ। अख्तियारले रावलमाथि सजाय हुन मागदावीसहित बुधबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
यस्तै कपिलवस्तुको महाराजगंज नगरपालिकामा कार्यरत इन्जिनियर (करार) संतोषकुमार चौधरीले तालिमको झुटा बिवरण पेश गरी जागिर खाएको भन्दै अख्तियारको टोलीले नियन्त्रणमा लिई विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको अख्तियारले जनाएको छ।