जनकपुरधाम - आगामी मंसिर १४ गते हुने स्थानीय तह उपनिर्वाचनमा अध्यक्ष पदका लागि महोत्तरीको पिपरा गाउँपालिकामा मनोनयन दर्ता भएको छ। मनोनयन दर्ता गर्न उम्मेदवारहरु बाजागाजासहित मनोनयन दर्तास्थल पिपरा पुगेका छन्।
राजपाबाट अध्यक्षमा निर्वाचित विनोद चौधरीको निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो।
पिपरा उपनिर्वाचनमा नेपाली कांग्रेसबाट विजयकुमार यादव, नेकपाका विक्रम यादव, राजपाकी रविता चौधरी, समाजवादी पार्टीका रामजानकी यादव र सीके राउत नेतृत्वको जनमत पार्टीबाट अन्जु मण्डलले उम्मेदवारी दिएका छन्। चौधरी यसअघि गाउँपालिका अध्यक्ष रहेका विनोद चौधरीकी श्रीमती हुन्।
मनोनयन दर्ता गराउने उम्मेदवारहरुले आ-आफ्नो जित निश्चित रहेको दाबी गरेका छन्।
नेकपाका उम्मेदवार विक्रम यादवले यसअघि राजपाबाट निर्वाचित उम्मेदवारले केही गर्न नसकेको र पछिल्लो निर्वाचनमा आफू झिनो मतले पराजित भएकोले जनताले निर्वाचित गराउने दाबी गरेका छन्।
यसैगरी नेपाली कांग्रेसका विजय यादवले पनि आफ्नो जित सुनिश्चित रहेको दाबी गरे। मधेस केन्द्रीत दलको गतिविधिबाट जनता आजित भइसकेकोले मतदाता विकल्पको खोजीमा रहेको उनको भनाइ छ।
समाजवादी पार्टीकी रामजानकी यादवले पछिल्लो स्थानीय सरकारले केही गर्न नसकेकोले मतदाता आफ्नो पक्षमा रहेको दाबी गरिन्।
राजपा र समाजवादीबीच भएन गठबन्धन
समाजवादी पार्टीले स्थानीय तह निर्वाचनमा राजपासँग गठबन्धन गरेर जाने भनेपनि पिपराको स्थानीय तह निर्वाचनमा दुई दलबीच सहकार्य हुन सकेन। उम्मेवारको विषयमा सहमति जुट्न नसकेपछि दुई दलबीच गठबन्धन हुन नसकेको स्रोतले जनाएको छ। उम्मेदवार टुंगो लगाउन मंगलबार अबेर रातिसम्म जनकपुरमा अध्यक्षमण्डलको बैठक बसेको थियो।