वीरगन्ज - भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले
भारतले मिचेको भनिएको नेपाली भूमि लिम्पियाधुराका विषयमा प्रमाण जुटाउने काम भइरहेको बताएकी छन्। उनले कालापानी र लिपुलेक भने नेपालकै नक्सामा रहेको बताइन्।
पर्साको वीरजन्जमा आयोजित कार्यक्रममा उनले भनिन्, ‘सरकारले लिम्पियाधुराको सवालमा प्रमाणहरु जुटाउँदै गरेको छ। लिपुलेक र कालापानी नेपालको नक्सा राखिसकियो।’
उनले आफ्नो भूमि जोगाउन सरकारले कुनै कसर बाँकी नराख्ने समेत बताइन्। ‘यो सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरा लगायतको नेपाली भूमि जोगाउन कुनै कसर बाँकी राख्दैन । ज्यान फालेर भए पनि आफ्नो भूमि आफ्नै गरेर छोड्छ’, उनले भनिन्।
पार्टीको नेतृत्व गरेर प्रधानमन्त्री बनेका केपी शर्मा ओली, झलनाथ खनाल, माधव नेपाल र जनयुद्धको नेतृत्व गरेर आएका प्रचण्ड जस्ता व्यक्तिहरु भएको पार्टीको नेतृत्वमा बनेको सरकारले एक इन्च पनि नेपाली भूमि मिच्न नदिने उनको दाबी थियो।
लोकतन्त्र प्राप्तिसँगै जनताको अभिमतबाट आएको दुईतिहाईको सरकारले समृद्ध नेपाल सुखी नेपालीको नारा लिएर अगाडि बढिरहेको बताउदै मन्त्री अर्यालले भनिन्, ‘अब सरकारले विकासको खाका मात्र बनाउँदैन । कामको प्रतिफल देखिने गरी काम गर्छ।’