काठमाडौं- चार दिने सद्भावना भ्रमणका लागि नेपाल आएका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद बुधबार उच्चस्तरीय भेटवार्ता गर्ने भएका छन्।
राष्ट्रपति हमिदले बुधबार बिहान १०ः५० बजे राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, ११ः१० बजे नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल, दिउँसो २ बजे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्नेछन्। उनीहरूबीच राष्ट्रपति हमिद बसेको होटल म्यारियटमा भेटवार्ता हुनेछ।
यस्तै, दिउँसो २ः४० बजे प्रधानमन्त्री केपी शर्मा ओली र ३ः१५ बजे उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग पनि भेटवार्ता हुने कार्यक्रम तय गरिएको छ।
त्यसपछि समकक्षी विद्यादेवी भण्डारीसँग उनको भेटवार्ता हुनेछ। अपराह्न चार बजे राष्ट्रपति भवन शितल निवासमा हुने भेटका क्रममा आपसी आपसी हितका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भेटवार्तापछि राष्ट्रपति हमिद रात्रिभोजमा सरिक हुनेछन्। हमिदको सम्मानमा समकक्षी भण्डारीले दरबारमार्गस्थित होटल याक एण्ड यतीमा साँझ साढे ६ बजे रात्रिभोज आयोजना गरेकी छन्।
उनी बिहीबार पोखरा जाने र शुक्रबार काठमाडौं चन्द्रागिरि र ललितपुरको पाटन दरवार स्क्वायर अवलोकन गर्ने कार्यक्रम छ।
राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा हमिद मंगलबार नेपाल आएका हुन्। उनी कात्तिक २९ गते (शुक्रबार) स्वदेश फर्कने कार्यक्रम छ।