आइतबार, साउन ३१, २०८३

उपनिर्वाचन : भक्तपुर १ (क)मा त्रिपक्षीय प्रतिस्पर्धा

आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनअन्तर्गत भक्तपुर १ को प्रदेशसभा (क)मा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ।
 |  बुधबार, कात्तिक २७, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २७, २०७६

काठमाडौं- आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनअन्तर्गत भक्तपुर १ को प्रदेशसभा (क)मा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ।

यस क्षेत्रमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बीच त्रिपक्षीय प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।

२०७४ सालमा भएको प्रदेशसभा निर्वाचनमा यस क्षेत्रबाट तत्कालीन नेकपा (एमाले)का हरिशरण लामिछाने १२ हजार ७८९ मत ल्याएर विजयी भएका थिए। उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका जीवन खत्रीले नौ हजार ९७७ मत ल्याएका थिए। नेमकिपाका निरज लवजुले भने सात हजार १९ मत प्राप्त गरेका थिए।

लामिछानेको मष्तिस्कघातका कारण निधन भएपछि यस क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।

उपनिर्वाचनमा नेकपाले युवानेता एवं पार्टी जिल्ला सचिव देवीप्रसाद (डिपी) ढकाललाई उम्मेदवार बनाएको छ। कांग्रेसले यसअघिका संविधानसभामा उम्मेदवार बनेका व्यवसायी कृष्णलाल भँडेल र नेमकिपाले भने अघिल्लो निर्वाचनका उम्मेदवारलाई नै उठाएको छ।

यी तीनै उम्मेदवार आफ्नो जित सुनिश्चित भएको दाबी गरिरहेका छन् ।

नेकपाका उम्मेदवार ढकाल नेकपा एकढिक्का भएकाले आफ्नो जित सुनिश्चित भएको बताउँछन्। “मुख्यरूपमा संगठन र कार्यकर्ताको बल, जनताको विकासप्रतिको चाहना र नेकपाको समृद्ध भक्तपुर बनाउने अभियान नै विजयको मुख्य आधार हुनेछ।” उनी ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा पूरा गर्न जनतासमक्ष घोषणापत्र लिएर चुनावी अभियानमा होमिएका छन्।

कांग्रेस उम्मेदवार पनि यसपटकको उपनिर्वाचनमा जित्ने दाबी गरिरहेका छन्। अघिल्लो निर्वाचनमा अन्तर्घातका कारण आफू पराजित भएको र यसपटक अन्तर्घात नहुने भएकाले जित सुनिश्चित भएको उनको भनाइ छ।

यसपटक राप्रपा (संयुक्त)सँग आफूलाई समर्थन जनाउनका लागि छलफल भइरहेको उनले बताए। राप्रपा (संयुक्त)ले समथर्न गरे आफू भारी मतान्तरले जित्ने उनको भनाइ छ।

लवजू भने नेमकिपा जनताले खोजेको वैकल्पिक शक्ति भएकाले यसपटक आफूले जित्ने बताउँछन्। राष्ट्रियताको नारा लिएर सत्तामा रहेका दलको भण्डाफोर अभियान लिएर मत माग्दै प्रतिस्पर्धामा उत्रिएको नेमकिपाले जनाएको छ।

विगतमा चौथो शक्तिका रूपमा रहेको राप्रपा (संयुक्त) उपनिर्वाचनमा प्रतिस्पर्धा गर्न नपाउने भएको छ। समानुपातिक बन्द सूचीमा समेत नाम रहेको भन्दै निर्वाचन आयोगले उपनिर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवार रामशरण लामिछानेको उम्मेदवारी रद्द गरेको हो ।

त्यसैले राप्रपा (संयुक्त)को समर्थन हुनेलाई चुनाव जित्न सहज हुने आकलन गरिएको छ।

यस क्षेत्रबाट साझा पार्टीका सुरज प्रधान, राष्ट्रिय प्रजातन्त्र पार्टीका श्यामप्रसाद नेपाल, नेकपा मालेका सुदर्शन लामिछाने, नेपाली कांग्रेस (बिपी)का मधुसुदन न्यौपाने, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मिङमार लामा, समाजवादी पार्टीका सुदर्शन कुमार प्रतिस्पर्धामा उत्रिएका छन्।

यस्तै, सुजाता देउजा, अर्जुन कोजू, कृष्णराम पोतामाहा, राकेश सुवाल, संगीता पौडेल, उत्तम साखकर्मी, जीवन नेपाली, कृष्णप्रसाद ह्योगो, जीवनचन्द्र अधिकारी र सुमना कार्कीले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

प्रकाशित: Nov 13, 2019| 01:53 बुधबार, कात्तिक २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।