काठमाडौं- राजधानीबाट प्रकाशित हुने दैनिक पत्रपत्रिकाले बुधबार विभिन्न विषयलाई मुख्य समाचार बनाएका छन्।
अन्नपूर्ण दैनिकले तीन सय ९५ वर्ग किमि अतिक्रमणमा शीर्षकको समाचारलाई मुख्य बनाएको छ। अन्नपूर्णले लेखेको छ, “भारतले लिम्पियाधुरादेखि कालापानीसहित लिपुलेकको भूभाग गरी तीन सय ९५ वर्ग किमि अतिक्रमण गरेको नयाँ तथ्य खुलेको छ। सरकार आफैले गठन गरेको अध्ययन समितिले दिएको प्रतिवेदन गुपचुप राख्दा हालसम्म तीन सय ७२ वर्ग किमि क्षेत्र भारतले ओगटेको सार्वजनिक हुँदै आएको थियो।”
नागरिक दैनिकले पनि अतिक्रमणकै विषयलाई पहिलो पेजमा स्थान दिएको छ। नागरिकले सीमाका बासिन्दालाई बाटोसमेत छैन शीर्षकको समाचार प्रकाशित गरेको छ।
यस्तै, नागरिकले मन्त्री फेर्ने कसरत : सरकारविरोधी मोर्चा कमजोर बनाउने रणनीति शीर्षकको समाचार पनि पहिलो पेजमै प्रकाशित गरेको छ।
नागरिकले बंगलादेशका राष्ट्रपतिलाई नेपाली समकक्षी विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको तस्बिर पहिलो पेजमै प्रकाशित गरेको छ ।
कान्तिपुर दैनिकले भने अमेरिका जान खोज्दा बन्धक शीर्षकको समाचारलाई पहिलो पेजमा स्थान दिएको छ। कान्तिपुरले लेखेको छ, “दक्षिणपूर्वी अफ्रिकी राष्ट्र मलावीमा ३२ दिनदेखि बन्धक बनाइएका चार नेपालीलाई प्रहरीको मानव बेचबिखन ब्युरोले उद्दार गरेको छ। अमेरिका जाने आशमा मानव तस्करको फन्दामा परेका उनीहरू सोमबार राति काठमाडौं आइपुगेका हुन्।”
यस्तै, कान्तिपुरले प्रधानमन्त्रीको नगरमा २५ तले भ्यु–टावर शीर्षकको समाचारलाई पनि प्राथमिकता साथ छापेको छ।
नयाँ पत्रिका दैनिकले भने आलमको पक्षमा वरिष्ठ अधिवक्ताहरूको परेड शीर्षकको समाचारलाई ब्यानर बनाएर प्रकाशित गरेको छ।