काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सीमा विवाद मिलाउने जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीको भएको बताएको छ।
‘सीमा विवाद हल गर्ने जिम्मेवारी अब प्रधानमन्त्रीको हो, सर्वपक्षीय भेलामा सबैले सुझाव दिइसकेका छौं’, पार्टी कार्यालयमा मंगलबार पत्रकार सम्मेलन गर्दै प्रवक्ता शर्माले भने, ‘अब बल प्रधानमन्त्रीको खुट्टामा छ, सीमा विवाद हल गर्ने विषयमा सरकारको भूमिका नियालिरहेका छौं।’
शनिबार सर्वपक्षीय भेलामा पार्टीका तर्फबाट सुझाव दिइएको उल्लेख गर्दै शर्माले सरकारको भूमिका नजिकबाट नियालिरहेको बताए। उनले प्रतिपक्षी दल कांग्रेसले सीमा विवाद हल गर्न र अतिक्रमित भूमि फिर्ता ल्याउने विषयमा सरकारले गर्ने हरेक पहललाई सघाउने पनि बताए। ‘सीमा विवाद हल गर्न सरकारले परिणामुखी पहल गरोस्,’ उनले भने।
यसैबीच कांग्रेसले डाक्टर गोविन्द केसीका माग सम्बोधन गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ।