काठमाडौं - धार्मिक तथा सांस्कृतिक सम्पन्न रहेको सुदूरपश्चिमका पहाडी भेग मेलामय बनेका छन्। यहाँका धार्मिक स्थलहरुमा केही दिनदेखि मेलाको रौनक बढेको छ।
कात्तिक शुक्लपूर्णिमा अर्थात मंगलबार डडेल्धुरा, डोटी, अछामका धार्मिक स्थलहरुमा मेला आयोजना गरिएका छन्।
डडेल्धुराको प्रसिद्ध शक्तिपीठ उग्रतारा, डोटीको शैलेश्वरी र अछामको गाँज्रा डौठेगडामा मंगलबार (आज) मेला लागेका छन्। डोटी र डडेल्धुरामा मेला तथा अछाममा दसैँ मेला लागेको छ।
अछामको गाँज्रा डौँठेगडा र मेल्लेख गाउँपालिका-६ माडीगडामा आज दसैँ मेला लागेको छ। यि दुई स्थानमा हेरक वर्ष कात्तिक शुक्लपूर्णिमाका दिन दसैं मेला लाग्ने गर्दछ। मेलाको समापनसँगै यस वर्षको दसैं पनि सकिएको मानिन्छ।
उग्रतारा जाँत
डडेल्धुराको उग्रतारा मन्दिरमा आज भव्य मेला लाग्ने गर्दछ। स्थानीय भाषामा ‘देहीजाँत’ को रुपमा मानिने सुदूरपश्चिमको उग्रतारा भगवती मन्दिरमा भव्य मेला लाग्ने गर्दछ।
हरेक वर्ष कात्तिक शुक्लपूर्णिमाको रात (रतेडी) र दोस्रो दिन (दिउसेडी) मेला लाग्ने गर्दछ। राति लाग्ने मेलालाई ‘रतेडी’ र दिउँसो लाग्ने मेलालाई ‘दिउसेडी’ भनिन्छ।
सोमबार बेलुकादेखि सुरु भएको मेला मंगलबार बेलुकीसम्म लाग्ने गर्दछ। खनमडा, छचोडा, दुमडा र जिलोडा भ्राण (भण्डार) गाउँबाट उग्रतारा भगवती मन्दिरमा बिहान ‘देउरो’ आइ दिउसेडी मेला सुरु भएको उग्रतारा क्षेत्र विकास समितिले जनाएको छ।
देहीजाँतको रूपमा मानिने उग्रतारा भगवती मेलामा सुदूरपश्चिम, कर्णाली प्रदेश तथा छिमेकी देश भारतबाटसमेत श्रद्धालु आउने गरेको उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले जानकारी दिए।
डडेल्धुरा सदरमुकामबाट ४ किलोमिटरको दुरीमा अमरगढी नगरपालिका-८ को दशरथचन्द राजमार्गसँगै सुन्दर डाँडामा अवस्थित महाशक्तिपीठ उग्रतारा भगवतीको मन्दिरमा लाग्ने मेलामा हजारौँ दर्शनार्थी पूजा-आराधना गर्न आइपुग्छन्।
शैलेश्वरी भगवती
डोटीको शैलेश्वरीमा पनि आजकै दिन जाँत अर्थात मेला लाग्ने गर्दछ। बिहानैदेखि शैलेश्वरी माताको पूजा सुरु भएको शैलेश्वरी क्षेत्र विकास समितिका अध्यक्षसमेत रहेका पुजारी प्रेमशंकर भट्टले जानकारी दिए।
मेलाका लागि धामी गाउँ र सिलगाउँबाट 'देउरो' ल्याउने गरिन्छ। स्कन्द पुराणको मानस खण्डमा उल्लेख भएअनुसार शिव-पार्वती विवाहपछि सँगै घुम्दै आउने क्रममा यस क्षेत्रको रमणीय दृष्यबाट लोभिएर यसै क्षेत्रमा सयल गर्दै वर्षौं बिताएको किम्बदन्ती छ।
स्वर्गमा तारकासुर नामको दैत्यले देवगणहरुलाई आतंकित तुल्याउँदा ब्रह्माजीलाई अघि लगाउँदै देवगणहरु भगवान शिवको खोजीमा यस क्षेत्रमा पुग्दा भगवान शिव र माता पार्वती कामवासनामा तल्लिन रहेको देखेपछि माता पार्वती लज्जाले शिला पिण्डमा लुक्नु भएको बताइन्छ।
फलतः शिव र पार्वती एकानुभूति भै विलिन भएपछि अर्धनारीश्वरी शैलेश्वरी भन्ने नाम रहन गएको र ब्रह्माजीसहितको देवगणहरुले नाना स्तुति गर्दा अर्धनारीश्वरी शैलेश्वरीले दर्शन दिएको स्कन्द पुराणको मानस खण्डअन्तर्गत शैलेश्वरी महात्मयमा वर्णित छ।
यसै पुण्यभूमिमा १२ वर्षको बनवासपछि अयोध्या फर्की भगवान रामले अश्वमेध यज्ञ सकेपछि आफ्नो गुरु वशिष्टको आज्ञाले चन्दनगिरी पर्वत हालको सिलगढी नगरीमा आई माता शैलेश्वरीको पूजा आराधाना गरेपछि माताले दर्शन दिएको पनि स्कन्द पुराणको मानस खण्डमा उल्लेख छ।
यहाँ प्रत्येक १२ वर्षमा एक पटक लक्ष्यहोम र १४ वर्षमा एक पटक कोटीहोम महायज्ञ लाग्ने गर्दछ।
अछामका ७ ठाउँमा दसैं
हरिबोधनी एकादशी पछिको पूर्णिमाको दिन जिल्लाकै प्रख्यात गाँज्राको डौठेगडालगातय अछामका बिभिन्न सात ठाउँमा दसैं मेला लागेको छ। षोडशाको माडीगडा, सुतार, सान्तडाको चाँफामाण्डौं, देवीस्थान, सिउँडीमा दसैं मेला लागेको छ।
यि ठाउँमा राँगा, बोका गरी हजारौं पशुको बली चढाउने गरिन्छ। शक्तिपीठहरुमा आफ्नो मनोकांक्षा पुरा गरेको खुसीयालीमा भगवतीलाई खुसीपार्न राँगालाई लखेट्दै बली चढाउने गरिन्छ। सबै भन्दा धेरै गाँज्राको डौठेगडामा राँगा बोकाको बली चढाइने गरिन्छ।
डौठेगडामा आज ४० भन्दा बढी राँगा, बोका तथा हाँसको बली चढाइने अनुमान गरिएको मेला व्यवस्थापन समितिका अध्यक्ष भरत खडकाले जानकारी दिए।
नेपालमा बाईसे-चौबीसे राज्य भएको बेला खप्तडी खड्काका सीकिन्दर खड्काको पालादेखि नै डौठेगडामा मेला सुरु भएको बताइन्छ। त्यति बेला गाउँका मुखियालाई राजाको आदेशमा टाउको काट्नु भनी आदेश दिएको र राजाको आदेशमा अछामका गाउँगाउँमा रहेका मुखियालाई पक्राउ गरि लगेको त्यसै क्रममा गाज्राका मुखिया सिकिन्दर खड्कालाई पनि प्रहरीले पक्राउ गरी लगेको तर संयोगवस सिकिन्दर खड्कालाई पक्रने प्रहरी प्रमुख उनका मीत परेका थिए। उनलाई काट्न अछाम,सुर्खेत र दैलेखको सीमाना कर्णाली नदीको किनार बेलखेतमा पुर्याइयो। खड्कालाई काट्न उनकै मित प्रहरी आए।
मित प्रहरीले आफूले पुज्ने देवीदेवतालाई सम्झेर कर्णालीमा हाम फाल्न लगाए। पौडी खेल्न नजान्ने मान्छे कर्णालीमा हाम फालेर सकुशल पारी पुगेपछि बाँचेको खुसियालीमा डौठेगडामा दौडाउँदै राँगो काटेको भन्ने किम्बदन्ती छ। त्यही समयबाट यहाँ वर्षेनी दसैं मनाउने गरिन्छ।
यस्तै माडीगडामा साना-ठूला गरी २४ राँगाको बली चढाइने स्थानीय पृथ्वी रावलले जानकारी दिए। यि ठाउँमा आज बिहानैबाट बोका र हाँसको बली चढाउन सुरु हुने गर्दछ। बेलुकी राँगा, बोकाको बली चढाएपछि ति ठाउँहरुमा रातभर मेलासमेत लाग्ने गर्दछ।
सकियो बडिकेदार मेला
डोटीको प्रसिद्ध धार्मिक स्थल बडिकेदारमा लाग्ने मेला सोमबार सकिएको छ। डोटीको दक्षिणी क्षेत्र बडिकेदार गाउँपालिकामा अवस्थित बडिकेदार यसक्षेत्रको धार्मिक आस्थाको धरोहर मानिन्छ।
बडिकेदारमा हरेक वर्ष दुईपटक धार्मिक मेला लाग्ने गर्छ। फागुनमा पर्ने महाशिवरात्री र कात्तिक बैकुण्ठ चतुर्दशीमा बडिकेदार पुजिन्छ। यही सेरोफेरोमा यहाँ तीर्थालुको बाक्लो भिड हुने गर्छ।
‘महाशिवरात्री भन्दा कात्तिकको बैकुण्ठ चतुर्दशीमा भव्य मेला लाग्ने र एकसाता अघिदेखि नै दर्शनार्थीहरु बडिकेदार गाँथमा पुगेर दर्शन गरेर फर्कने गरेको बडिकेदार गाउँपालिका-५ का वडाध्यक्ष बुद्धिसागर विनाडीले जानकारी दिए। बडिकेदारमा डोटीसँगै कैलाली, कञ्चनपुर र भारतको उत्तरप्रदेशका तीर्थयात्रीसमेत आउने गर्दछन्।
बडिकेदारमा भगवान शिवजीको बासस्थान रहेको जनविश्वास रही आएको छ। बडिकेदारमा शिवको प्रतिमूर्तिका रूपमा रहेको शिला छ। जहाँ शिवको प्रतिमा पनि खोपिएको छ। नजिकै बडेमानको ढुङ्गामा गाई र बाच्छाको मूर्तिसमेत छ। मूर्ति ठूलो भिरको बीचमा रहेको छ।
