काठमाडौं- सिख धर्मका संस्थापक एवम् प्रथम गुरु गुरुनानक देवको ५५० औं जयन्ती धुमधामका साथ मनाइएको छ।
कात्तिक शुक्ल पूर्णिमाका दिन मनाइने गुरुनानक देव जयन्तीलाई प्रकाश पर्व पनि भनिन्छ। नेपालका सिख समुदायले पनि धुमधामका साथ यो पर्व मनाउँदै छन्। गुरुनानक देवले सिख धर्म ग्रन्थ ‘गुरु ग्रन्थ साहेव’ को रचना गरेका हुन् । उनले जातिवादको अन्त्य गरी मानवतावादी दर्शन स्थापना गरे ।
गुरुनानक देवलाई अन्य धर्मावलम्बीले सन्तका रुपमा सम्मान गर्छन्। आज काठमाडौंको पशुपतिस्थित राजराजेश्वरी निर्मल अखाडामा ‘गुरु ग्रन्थ साहेव’ पाठ गराउनुका साथै साधुसन्तलाई भोजन गराइएको छ।
यसैगरी पशुपतिकै भष्मेश्वर, ज्ञानेश्वर र कुपण्डोलस्थित गुरुद्वारामा विविध कार्यक्रम आयोजना गरिएको छ ।
गुरुनानक देव जयन्तीको अवसरमा राष्ट्रपति विद्या भण्डारीले सम्पूर्ण सिख धर्मावलम्बीहरुलाई शुभकामना दिएकी छन् ।
शुभकामना सन्देशमा गुरुनानक देवले समाजमा शान्ति, सद्भाव, धर्म रक्षा र मानव कल्याणका लागि सबै धर्महरुबीच सद्भाव कायम गर्न दिएको प्रेरणाले नेपालमा पनि विविधताका बीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिने विश्वास व्यक्त गरिएको छ ।