काठमाडौं - काठमाडौं जिल्ला अदालतले उद्योगपति तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पद्म ज्योतिलाई पक्राउ गर्न पुर्जी जारी गरेको छ। अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठका अनुसार सोमबार अदालतले उनलाई पक्रन पुर्जी जारी गरेको हो।
व्यवसायिक घराना ज्योति समूहका अध्यक्ष पद्म ज्योति केही दिन अघि पक्राउ परेका रूप ज्योतिका दाइ हुन्। रूप ज्योति पक्राउ परेकै प्रकरणमा पद्म ज्योतिलाई पनि पक्रन पुर्जी जारी गरिएको श्रेष्ठले जानकारी दिए।
रूप ज्योतिलाई प्रहरीले गत कात्तिक २१ गते त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको थियो। उनीसँगै उनकी छोरी सुरूचीलाई पनि प्रहरीले पक्राउ गरि हिरासतमा राखेको छ। उनीहरुमाथि म्याद थप भई अनुसन्धान भइरहेको छ।
गत आइतबार जिल्ला अदालतले पूर्व अर्थ राज्यमन्त्रीसमेत रहेका ज्योति र उनकी छोरीलाई थप ५ दिन थुनामा राख्न आदेश दिएको थियो। त्यसअघि तीन दिन थुनामा राख्न म्याद दिइएको थियो।
हाउजिङका नाममा एक करोड २६ लाख रूपैयाँ ठगी गरेको आरोपमा गत मंसिर २० गते जिल्ला अदालतले रूप ज्योतिलगायत १० जनाविरुद्ध पक्राउपूर्जी जारी गरेको थियो।
तर, रूपज्योतिले पक्राउ पूर्जी विरुद्ध सर्वोच्च अदालतमा मंसिर २३ गते निषेधाज्ञा रिट दायर गरेका थिए। सर्वोच्च अदालतले रूपज्योतिले दायर गरेको निषेधाज्ञाको रिट खारेज गरिदिएको थियो।