आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बङ्गलादेशका राष्ट्रपतिको नेपाल भ्रमण : यस्तो छ तयारी र सुरक्षा

बङ्गलादेशका राष्ट्रपतिको नेपाल भ्रमण : यस्तो छ तयारी र सुरक्षा

बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको नेपाल भ्रमणका बेला सरकारले उच्चस्तरीय सुरक्षा व्यवस्था मिलाएको छ।
 |  सोमबार, कात्तिक २५, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २५, २०७६

काठमाडौं - बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको नेपाल भ्रमणका बेला सरकारले उच्चस्तरीय सुरक्षा व्यवस्था मिलाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा यही कात्तिक २६ देखि २९ गतेसम्म नेपालको चार दिवसीय सद्भावना भ्रमण गर्न लागेका बङ्गलादेशका राष्ट्रपति हमिदलाई अति विशिष्ट व्यक्तिहरुको सुरक्षा कार्यविधि-२०७० अनुसार चारवटै सुरक्षा निकायको समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको छ।

आवश्यक तयारीस्वरुप सुरक्षा समन्वयात्मक छलफल भइसकेको र सम्भावित चुनौतीलाई मध्यनगर गर्दै आजैदेखि चौविसै घण्टा रहने गरी सुरक्षाकर्मीलाई विभिन्न स्थानमा खटाइएको सुरक्षा निकायले जनाएको छ। सैनिक मुख्यालयका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले उक्त कार्यविधि अनुसार सुरक्षा समन्वयका लागि रथीको नेतृत्वमा चारवटै सुरक्षा निकायका अधिकारी सहभागी सुरक्षा समन्वय समितिले समन्वयात्मक रुपमा आवश्यक सुरक्षा व्यवस्था मिलाएको जानकारी दिए।

मङ्गलबार अपराह्न काठमाडौं आइपुग्ने राष्ट्रपति हमिदका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि बस्ने होटल तथा भेटघाटस्थलमासमेत आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको छ। उनले उपत्यकाको ऐतिहासिक, धार्मिक तथा पुरातात्विक क्षेत्र र पोखराको समेत भ्रमण गर्ने भएकाले ती क्षेत्रमा समेत आवश्यक सुरक्षा व्यवस्था मिलाइएको छ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले अन्य विशिष्ट व्यक्तिलाई दिइने सुरक्षा अनुसार नै अहिलेपनि सुरक्षा व्यवस्था चुस्त पारिएको जानकारी दिए। भ्रमणका क्रममा हमिदले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। बङ्लादेशका राष्ट्रपतिसँग उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बेग्लाबेग्लै शिष्टाचार भेट गर्नेछन्।

साथै पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समेत शिष्टाचार भेट गर्ने छन्। नेपाल बसाइका बेला बङ्गलादेशका विशिष्ट अतिथिले पोखराका साथै काठमाडौं उपत्यकाका ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक महत्वका क्षेत्रको स्थलगत अवलोकन भ्रमण गर्नेछन्।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी गौलोचन सैँजुले जिल्ला सुरक्षा समितिले आवश्यक सुरक्षा व्यवस्था मिलाइसकेको जानकारी दिए।

भ्रमणका लागि यसअघि चिनियाँ राष्ट्रपतिलाई दिइए झैँ विमानस्थलका साथै प्रयोग हुने सडक र निवासस्थलसम्म आवश्यक सुरक्षा व्यवस्था मिलाइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले बताए। भ्रमणको पूर्वसन्ध्यामा उपत्यकाका विभिन्न सडकका प्रत्येक खम्बामा नेपाल र बङ्गलादेशका राष्ट्रपतिको तस्बिर राखिएको छ। भ्रमण सम्पन्न गरी उनी कात्तिक २९ गते अपराह्न स्वदेश फर्कने कार्यक्रम रहेको छ।

यसअघि गत असोज २५ र २६ गते जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी जिनपिङले नेपालको राजकीय भ्रमण गरेका थिए। उक्त समयमा विमानस्थलसँगै काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रका सडक सजाइएको तथा कालोपत्र गरिएको थियो भने ठाउँठाउँमा नयाँ बगैँचासमेत निर्माण गरिएको थियो । (नारायण ढुङ्गाना/रासस)

प्रकाशित: Nov 11, 2019| 11:39 सोमबार, कात्तिक २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।