काठमाडौं - नाडा अटोमोवाईल्स एसोसिएसन अफ नेपाल (नाडा)ले आफ्ना पूर्वअध्यक्ष तथा उद्योगपति ज्योति समूहका उपाध्यक्ष डा. रुपज्योति तथा उनकी छोरीलाई पक्राउ गरेकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ।
एसोसिएसनका महासचिव सुनिल रिजालले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै आर्थिक लेनदेनको विषयलाई लिएर केही दिन अघि गरीएको गिरफ्तारीप्रति एसोसिएसनको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘उद्योग व्यवसाय गर्ने सन्दर्भमा गरिने सम्झौता एवं आर्थिक कारोवारहरुमा उत्पन्न हुने विवादहरुको समाधान देवानी दायित्व अन्तर्गत साधिकार निकायबाट उपचार खोजी विवादको समाधान गर्ने बैकल्पिक मार्ग हुँदाहुँदै पनि गम्भीर प्रकृतिको कसुरमा पक्राउ गरी म्याद थप गर्ने, थुनामा राख्ने लगायतका कार्यहरु हुँदा नेपालको समग्र निजी क्षेत्र हतोत्साहित भएको छ।’
एसोसिएसनले यस सन्दर्भमा जे जस्तो अनुसन्धान गर्नुपर्ने हो छिटो सम्पन्नगरी अदालतमा पेस गरी न्यायका लागि मार्ग प्रशस्त गरिदिनसमेत गृह प्रशासनलाई आग्रह गरेको छ।