काठमाडौं- नेपाल चिकित्सक संघले प्रा. डा. गोविन्द केसीका माग पुरा गरी उनको जीवन रक्षा गर्न सरकारसँग आग्रह गरेको छ।
संघले सोमबार विज्ञप्ति जारी गरी विगतमा डा केसी र संघसँग सरकारले गरेका सम्झौता कार्यान्वयन गर्नु सरकारको दायित्व रहेको पनि स्मरण गराएको छ।
संघका महासचिव लोचन कार्कीले जारी गरको विज्ञप्तिमा भनिएको छ, ‘नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई संविधानको भावना र मर्म बमोजिम स्थानीय तह सम्म पुर्याई, सर्वसाधारण नागरिकहरुको सहज पहुँचका निम्ति पटक–पटक शान्तिपूर्ण सत्याग्रहको माध्यमबाट नेपाल सरकार तथा नीति निर्माण तहमा रहेकाहरुलाई सजग गराउँदै आएका डा केसी र नेपाल चिकित्सक संघबीच बिगतमा भएका सम्झौताहरुको कार्यान्वयन गर्नु नेपाल सरकारको दायित्व भएको संघको ठहर छ ।’
डडेल्धुरा अस्पतालले केसीको रक्तचाप कम हुँदै गएको, मुटुको चालमा वृद्धि भइ समस्या देखिएको, रगतमा अक्सिनको मात्रा घटेको र मृगौलामा समस्या देखिएको जनाएको छ।
केसीको स्वास्थ्य अवस्था दिन प्रतिदिन जटिल बन्दै गएकाले चिकित्सकीय हैसियतले क्षमताभन्दा बाहिर गएका बखत अस्पतालले कुनैपनि जटिलता व्यवस्थापन गर्न नसक्ने अस्पतालको भनाइ छ।
यसैबीच केसीलाई काठमाडौं ल्याउनका लागि सरकारले पठाएको नेपाली सेनाको हेलिकप्टर उनी आउन नमानेपछि रित्तै फिर्ता भएको छ।