धनगढी - सुदूरपश्चिमको दार्चुला जिल्लाको ब्यास गाउँपालिकामा पर्ने कालापानी, लिपुलेक र लिम्पीयाधुरालाई भारतले आफ्नो नयाँ नक्सामा राखेकोमा सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो ध्यानाकर्षण भएको बताएको छ।
सोमबार मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले सीमा अतिक्रमणमा आफ्नो ध्यानाकर्षण भएको र यो विषय संघीय सरकार मातहत पर्ने भएकोले नेपाल सरकारलाई उत्पन्न विवाद समाधान गर्न आग्रह गरेको छ।
त्यस्तै ब्याँस गाउँपालिका वडा नम्बर २ को तुम्लिङदेखि टिंकर र साँग्रेसम्म नेपाली बस्ती भएर जाने घोडेटो बाटो संघीय सरकारको सहकार्यमा प्रदेश सरकारले निर्माण गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ। यसअघि सो क्षेत्रमा भारतको बाटो प्रयोग गरि जानुपर्ने बाध्यता रहेको थियो।
प्रदेश सरकारले कालापानी क्षेत्रलगायत भारतसंग सीमा जोडिएका क्षेत्रमा आवश्यकताअनुसार विओपीसमेतको ब्यवस्थासहित प्रभावकारी सुरक्षा व्यवस्थापनका लागि नेपाल सरकारसँग अनुरोध गर्ने निर्णयसमेत गरेको कानुनमन्त्री तथा प्रवक्ता प्रकाश शाहले बताए।
मन्त्री शाहले चिकित्सा शिक्षा सुधारको माग गर्दै अनसन बसेका डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्थाका बारेमा प्रदेश सरकारले जानकारी लिएको जानकारी दिए। उनले केसीको स्वास्थ्य अवस्था विग्रिदै गएपछि काठमाडौं लैजाने तयारी भएको जानकारी दिए।