काठमाडौं- तास चिन्ने सेन्सरको कारोबार गर्ने एक जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त कालीमाटीको प्रहरीले टोलीले सेन्सर जडित जुवा सामग्रीसहित नागार्जुन नगरपालिका–४ सीतापाइलाबाट सर्लाहीका ३६ वर्षीय निरबहादुर कार्कीलाई पक्राउ गरेको हो।
पक्राउ परेका कार्कीको डेराबाट डिभाइस जडित नगदसहित अन्य थुप्रै सामग्री बरामद गरिएको प्रहरी नायव उपरीक्षक रुगम कुँवरले जानकारी दिए। उनको साथबाट नगद ९४ हजार रुपैयाँ बरामद भएकोमा एक हजारका १४ वटा नोटमा तास चिन्ने सेन्सर जडान भएको कुँवरले जानकारी दिए।
कार्की तास चिन्ने सेन्सरको कारोबारी रहेको र एउटै डिभाईसको एक लाखमा बिक्री हुने गरेको कुँवरले जानकारी दिए। उनको कोठाबाट डिभाइस जडित एउटा पर्स, ५ वटा बेल्ट, एउटा घडी, ६ वटा चस्मा र ४ वटा चस्माका खोल, १२ वटा टिसर्ट, १६ वटा सर्ट, ३ वटा टिसर्टका बाहुला, २४ वटा रिमोट, एउटा लिड लाइट, १३५ वटा विभिन्न रंगका एयर पिस, विभिन्न रंगका ५४ वटा लेन्स र २ वटा हाते झोलासमेत बरामद गरेको प्रहरीले जनाएको छ।
यसबाहेक बिभिन्न बैंकको १३ लाखको चेक, केही भारतीय नोट र अन्य इलेक्ट्रिक सामग्रीहरु पनि बरामद भएको प्रहरीले जनाएको छ। डिभाइस
जडित सामग्रीहरुले जुवामा सजिलै तास चिन्न सक्ने कुँवरले बताए।
‘कार्कीले थुप्रै डिभाईस बिक्रीसमेत गरिसकेको खुलेको छ’ कुँवरले भने,‘यो कारोवारमा अरुको पनि संलग्नता बारे अनुसन्धान भैरहेको छ।’