काठमाडौं- नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल र भारत सीमा समस्या अन्तर्राष्ट्रियकरण गर्ने बेला नभएको बताएका छन्।
सोमबार प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा उपस्थित भएका प्रचण्डले सीमा समस्या आपसी छलफल र संवाद गरेर टुंग्याउनु पर्ने बताए।
उनले भने, ‘सीमा समस्या अहिल्यै अन्तर्राष्ट्रियकरण गर्ने समय भएको छैन, त्यसो गर्दा झन् समस्या पैदा हुन्छ।’
समितिकी सभापति शशी श्रेष्ठले कालापानी क्षेत्रमा भारतले गरेको सीमा अतिक्रमणलाई आवश्यक परे अन्तर्राष्ट्रियकरणसमेत गर्नुपर्ने धारणा राखेपछि प्रतिक्रिया दिएका दाहालले उक्त विषयलाई अन्तर्राष्ट्रियकरण गर्नु आवश्यक नभएको बताएका हुन् ।
उत्तेजना फैलाएर समस्या समाधान नहुने भन्दै प्रचण्डले राजनीतिक र कुटनीतिक तवरमा समस्या समाधान गरिने बताए ।
नेपालमा सीमाको विषयलाई लिएर अभूतपूर्व राष्ट्रिय एकता कायम भएको बताएका प्रचण्डले अहिले नेपाल र भारतमा स्थिर सरकार भएकोले समस्या समाधान गर्ने बेला भएको तर्क गरेका थिए ।
भारतले गत नोभेम्बर १ मा जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपालको कालापानी र लिपुलेक राखेपछि त्यसविरुद्ध नेपालभर प्रदर्शन भइरहेको छ।
उक्त विषयमा छलफलका लागि समितिले प्रधानमन्त्रीलाई डाके पनि उनी भने उपस्थित भएनन्।
प्रधानमन्त्री सहभागी नभएपछि सरकारका तर्फबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले धारणा राखेकी छन्।