काठमाडौं- प्रतिनिधिसभा राज्य व्यवस्था समितिले डाकेको बैठकमा प्रधानमन्त्री केपी ओली अनुपस्थित भएका छन्।
कालापानीमा भारतले गरेको अतिक्रमणका विषयमा प्रधानमन्त्री ओलीसँग जवाफ माग्न समितिले प्रधानमन्त्री र गृहमन्त्रीलाई सोमबार बिहान डाकेको थियो ।
नयाँ संविधानअनुसार प्रतिनिधिसभा गठनपछि प्रधानमन्त्रीलाई समितिको बैठकमा बोलाइएको यो पहिलोपटक थियो।
प्रधानमन्त्री र गृहमन्त्रीसँग समितिले कालापानी क्षेत्र रक्षाका लागि सरकारले गरेको काम र सो क्षेत्र नेपालकै हो भन्ने प्रमाणका विषयमा जवाफ माग्ने तयारी थियो ।
यस्तै अन्तर्राष्ट्रिय सम्बन्ध समितिले यसबारे परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग आवश्यक जानकारी लिइरहेको छ।
नेपालको लिपुलेक, कालापानी, लिम्पियाधुरालाई समेत आफ्नो बनाएर भारतले राजनीतिक नक्सा निकालेपछि त्यसको जनस्तरबाट चर्को विरोध हुँदै आएको छ ।
नक्सामा भारतले नेपालको ३७२ वर्ग किमि क्षेत्रफल आफ्नो बनाएको छ । भारतले कालापानी क्षेत्र आफ्नो भएको दाबी गर्दै आएको छ भने नेपाल सरकारले त्यो नक्सा स्विकार्न नसकिने बताएको छ ।