काठमाडौं- शिक्षामन्त्री गिरिराजमणि पोखरेलले डा गोविन्द केसीलाई अनशन तोड्न आग्रह गरेका छन्। शिक्षामन्त्री पाेखरेलले देशकाे ध्यान भारतसँगकाे सीमा समस्यामा केन्द्रित रहेकाे गैरजिम्मेवार अभिव्यक्ति दिँदै यस्ताे आग्रह गरेका हुन्।
मन्त्रालयमा सोमबार (आज) आयोजित पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले अहिले अनशन बस्ने उचित समय नभएको भन्दै तोड्न आग्रह गरेका हुन् । उनले भने– 'अहिले सिंगो देश कालापानीका विषयमा गोलबद्ध भएको छ । डाक्टर सावले अनशन तोड्नु पर्यो।'
जनताले कालापानीको विषयमा आवाज उठाइराखेका बेला डा केसी अनशन बस्नु उचित समय नभएको उनको टिप्पणी थियो ।
डा केसीका अधिकांश माग सम्बोधन भएको दाबी गरेका मन्त्री पोखरेलले चिकित्सा शिक्षा ऐन कार्यान्वयनमा आएसँगै बाँकी माग पनि पुरा हुने बताए।
मन्त्री पोखरेलको अभिब्यक्तिलाई अभियन्ता डा जीवन क्षेत्रीले गैरजिम्मेवारीको पराकाष्ठा भएको प्रतिक्रिया दिएका छन् । नेपाल समयसँग कुरा गर्दै उनले भने– 'मन्त्रीको भनाई कुटिल र उम्किने बहाना मात्रै हो ।'
डा केसीको अनशन पछिल्लो पटक कालापानीको मुद्दा उठ्नुअघि नै सुरु भएको तर सरकारले यसैलाई बहाना बनाएर उम्किन खोजेको डा क्षेत्रीको भनाइ छ ।
उसो त कालापानी विवाद विगत ५७ वर्षदेखि जारी छ ।