काठमाडौं- डडेलधुरामा अनशनरत सत्याग्रही डा गोविन्द केसीलाई सरकारले काठमाडौं ल्याउने तयारी गरेको छ ।
डा केसीलाई लिन हेलिकप्टर समेत डडेलधुरा पुगिसकेको छ तर, डा केसीले डडेलधुरा छोडेर अन्यत्र जान अस्वीकार गरिरहेको उनका सहयोगी किशोर केसीले जानकारी दिएका छन् ।
अहिले डडेलधुरा जिल्ला अस्पतालमा ब्यापक प्रहरी परिचालन गरिएको छ ।
सरकारले केसीलाई जबर्जस्ती अन्यत्रै लैजाने तयारी थालेपछि स्थानीयले विरोधमा प्रदर्शन थालेका छन् । नागरिक समाज डडेलधुराले केसीको समर्थनमा बन्द आह्वान गरेको छ । बन्दका कारण डडेलधुरा, डोटी लगायत वरपरका जिल्लामा समेत यातायात ठप्प छ ।
८ दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि डडेलधुरा अस्पतालले उनको उपचारका लागि त्यहाँ सुविधा नरहेको जनाइसकेको छ ।
डा केसीले आफ्ना मागहरुको तत्कालै सम्बोधन नभए मागहरु थपिंदै जाने चेतावनी पनि दिएका छन् ।