बाँके- आफ्ना नेतालाई पक्राउ गरेको विरोधमा नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलले नेपालगन्जमा आज प्रदर्शन गर्दैछ।
तरुण दलले नेपालगञ्ज नगर सभापति सन्दीपजंग शाहसहितका नेतालाई हतियारसहित पक्राउ गरेको विरोधमा प्रदर्शन गर्न लागेको हो।
नेतालाई जालझेल गरेर फसाउन थालेपछि बाध्य भएर सडकमा उत्रिनुपरेको तरुण दलले जनाएको छ।
गत कात्तिक १४ गते इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमबहादुर शाही नेतृत्वको टोलीले नेपालगन्जस्थित नमस्ते रिसोर्टबाट तरुण दलका नेपालगञ्ज नगर सभापति सन्दीपजंग शाहसहित ६ जनालाई पक्राउ गरेको थियो। उनीहरुले प्रयोग गरेको बा१८च ४२११ नम्बरको कारबाट लुकाइछिपाइ राखेको अवस्थामा अटोमेटिक पेस्तोल एक थान र दुई राउन्ड गोलीसमेत बरामद भएको प्रहरीले जनाएको छ।
तर, तरुण दलले सो हतियार आफ्ना नेताको नभएको र प्रहरीले आफ्नै हतियार राखेर झुठो मुद्दामा फसाएको दाबी गरेको छ। डीएसपी शाहीले दसैंमा खसी नदिएको झोंकमा नेतालाई हतियारसम्बन्धी झुठो मुद्दामा फसाएको तरुण दलको आरोप छ।
तरुण दल, बाँकेका कोषाध्यक्ष केशर खड्कासँग दसैंमा खसी मागेको अडियो सार्वजनिक भएपछि डीएसपी शाही विवादमा तानिएका छन्। उनीमाथि छानबिन गर्न प्रहरी प्रधान कार्यालय र प्रदेश ५ प्रहरी कार्यालयले छुट्टाछुट्टै समिति गठन गरेका छन्।