काठमाडौं- प्रधानमन्त्री केपीशर्मा ओलीले मन्त्री हेरफेर गर्ने तयारी गरिरहेका बेला सचिवालय बैठकमा समेत यो विषयले प्रवेश पाएको छ ।
सोमबार (आज) बिहान बालुवाटारमा सुरु भएको बैठकमा मन्त्री हेरफेरका विषयमा छलफल भएको हो ।
मन्त्रिपरिषद् पुनर्गठनको विषयमा प्रधानमन्त्री ओलीले आइतबार अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए। सोहि छलफल बमोजिम आजको सचिवालय बैठकमा यो विषयले औपचारिक रुपमा प्रवेश पाएको हो ।
स्रोतका अनुसार सचिवालय सदस्यहरुबाट पनि प्रधानमन्त्रीले मन्त्री हेरफेरका विषयमा राय मागेका छन् । आजको बैठकले कुनै ठोस निर्णय गरे मंसिर अघि नै मन्त्री हेरफेर गर्ने प्रधानमन्त्रीको योजना छ।
यस्तै आजको बैठकमा भारतले सीमा अतिक्रमण गरेको विषयमा पनि गहन छलफल हुने भएको छ । भारतसँग कसरी छलफल अघि बढाउने र नेपालले कस्तो रणनीति अख्तियार गर्ने भन्ने विषयमा बैठकमा छलफल हुने नेताहरुले बताएका छन् ।
यस्तै पार्टी एकताको बाँकी कामका विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ । नेकपामा केन्द्रीय अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगको एकीकरण, प्रवास कमिटीहरूको कार्यविभाजन तथा महानगर कमिटीहरूमा इन्चार्ज र सहइन्चार्ज तोक्ने काम बाँकी छ।