जनकपुरधाम– नेपाली कांग्रसका उपसभापति विमलेन्द्र निधिले प्रदेश– २ को नाम मिथिला राख्नुपर्ने दोहोर्याएका छन् ।
मैथिली भाषाका प्रसिद्ध साहित्यकार विद्यापतिको स्मरणमा आइतबार जनकपुरमा आयोजित ‘विद्यापति स्मृति पर्व’ को उदघाटन सत्रमा बोल्दै उनले मिथिलाको महत्वबारे चर्चा गरेका थिए ।
हरेक वर्ष कार्तिक धवल त्रियोदशीको दिन जनकपुरमा विभित्र कार्यक्रमको आयोजना गरी विद्यापति स्मृति पर्व मनाइन्छ ।
विद्यापति स्मारक संरक्षण समितिले आयोजना गरेको कार्यक्रममा कांग्रेस उपसभापति निधिले मैथिली भाषा साहित्यको समृद्धीका लागि विद्यापतिको अतुलनीय योगदान रहेको बताए ।
निधिले जीवन, व्यवहारिक, सामाजिक प्रणाली सञ्चालनमा विद्यापतिको ठूलो भूमिका रहेको उल्लेख गरे ।
“विद्यापतिद्वारा लिखित मैथिली साहित्य मैथिली भाषीमामात्र सीमित नभएर नेपाली साहित्य र अन्य भाषभाषीमाझ पनि प्रशंसित छ,” निधिले भने, “विद्यापतिले मैथिली भाषा संवद्र्धन र प्रवद्र्धनका लागि दिएको योगदान कसैसँग पनि तुलना हुँदैन।”
मैथिली साहित्यको लागि विद्यापतिको योगदान नेपाली साहित्यमा आदिकवि भानुभक्तले दिएको योगदानभन्दा थोरै पनि कम नरहेको उनको भनाइ थियो ।
मैथिली भाषाको प्राचिन इतिहास रहेको भन्दै उपसभापति निधिले प्रदेश २ को नामाकरण मिथिला र राजधानी जनकपुर हुनुपर्ने दोह¥याएका हुन्।
कार्यक्रमका अर्का वक्ता नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रामकृष्ण यादवले मैथिलीभाषाका कवि कोकिलका रुपमा चिनिएका विद्यापतिको स्मृति पर्व प्रदेश र स्थानीय सरकारले नमाउनु आपत्तिजनक रहेको बताए ।
वर्ग र समुदायभन्दा माथि उठेका प्रतिष्ठित साहित्यकार विद्यापतिलाई प्रदेश र स्थानीय सरकारले महत्व नदिएकोमा उनले गुनासो गरे ।
यसैगरी प्रदेश– २ नेपाली कांग्रेसका संसदीय दलका नेता रामसरोज यादवले पहिचानको आन्दोलन गरेर सत्तामा पुगेका मधेश केन्द्रीत दलहरु मैथिली र मिथिलाको पहिचान अन्त्य गर्ने प्रपञ्चमा लागेको आरोप लगाए ।
प्रदेश–२ का आठ जिल्ला मिथिला र भोजपुराको केन्द्रमा रहेको भन्दै संसदीय दलका नेता यादवले प्रदेशको नामाकरण मिथिला–भोजपुरा हुनुपर्ने आफूहरुको अडान यथावत रहेको बताए ।
मैथिली संस्कृति सबैभन्दा पुरानो र जनकपुर राजा जनकको प्राचिन राजधानी भएकोले पनि मिथिलाबिना प्रदेश २ को नाम स्वीकार्य नहुने उनको भनाइ थियो ।
प्रदेश २ को स्थायी राजधानी जनकपुर हुनेबारे केही दिनभित्रै निर्णय हुने उनले बताए ।
विद्यापति स्मारक संरक्षण समितिका अध्यक्ष चन्द्रमोहन चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा विजय दत्त मणि, काशीकान्त झा लगायतका कविहरुले मैथिली कविता वाचन गरेका थिए भने सुनिल मल्लिक, नविन मिश्रलगायतका कलाकारले विद्यापतिले रचना गरेका मैथिली गीत गाएर सहभागीहरुलाई मनोरञ्जन गराएका थिए ।