काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीका निवर्तमान मुख्य सल्लाहकार विष्णु रिमाललाई अमेरिकाका लागि राजदूत बनाउने तयारी थालिएको बुझिएको छ।
प्रधानमन्त्री ओलीको सचिवालयका काम कार्वाही पार्टीभित्रै आलोचित भएपछि सल्लाहकारहरुले सामूहिक राजीनामा दिएका हुन्। जसमध्ये कतिपयको पुनर्नियुक्ति हुने र केहीलाई अन्य पदमा व्यवस्थापन गर्ने तयारी भएको नेकपाका नेताहरुले जनाएका छन्।
आइतबार पनि प्रधानमन्त्री ओली र केही सल्लाहकारहरुबीच निवर्तमान सल्लाहकारको व्यवस्थापन र नयाँ चयनका विषयमा छलफल भएको छ ।
नेकपाका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि निवर्तमान सल्लाहकारहरुको व्यवस्थापनका विषयमा पार्टीमा छलफल भइरहेको जानकारी दिए ।
जसमध्ये रिमाललाई अमेरिकाका लागि राजदूत बनाउने विषयमा पनि छलफल भएको छ।
नेकपा स्रोतका अनुसार रिमाल आफू पनि अमेरिकाको राजदूतका लागि इच्छुक भएकोले उनलाई त्यतातर्फ व्यवस्थापन गर्न लागिएको बुझिएको छ।
नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका रिमालले राजीनामापछि अमेरिकाको राजदूत बन्न लागेको विषयमा प्रतिक्रिया दिनन मानेनन्। तर, निवर्तमान सबै सल्लाहकारहरुको व्यवस्थापन हुने विषय भने स्वीकार गरे।