आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सर्वपक्षीय बैठकको सुझाव, ‘कालापानीबाट भारतीय सेना फिर्ता गर्न कुटनीतिक पहल गर’

सर्वपक्षीय बैठकको सुझाव, ‘कालापानीबाट भारतीय सेना फिर्ता गर्न कुटनीतिक पहल गर’

प्रधानमन्त्रीले शनिबार साँझ बोलाएको सर्वदलीय बैठकमा सहभागी नेता र सीमाविद्हरुले कालपानी नेपालकै भूभाग भएकाले त्यहाँ रहेको भारतीय सेना फिर्ता हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।
 |  शनिबार, कात्तिक २३, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २३, २०७६

काठमाडौं- प्रधानमन्त्रीले शनिबार साँझ बोलाएको सर्वदलीय बैठकमा सहभागी नेता र सीमाविद्हरुले कालपानी नेपालकै भूभाग भएकाले त्यहाँ रहेको भारतीय सेना फिर्ता हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।

भारतले केही दिनअघि जारी गरेको राजनीतिक नक्सामा नेपालको लिम्पियाधुरा, कालापानी लगायतका भूभाग आफ्नो देशभित्र पारेपछि त्यसको नेपालमा तीब्र विरोध भइरहेको छ।

बैठकमा सहभागी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले भारतले अतिक्रमण गरेको भूभाग फिर्ता ल्याउन र सीमा विवाद समाधान गर्न सरकारले तुरुन्तै पहल थाल्नु पर्ने सुझाव दिएका छन् ।
बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै देउवाले भने, “कालापानी हाम्रो हो । वार्ताबाटै सीमा विवाद समाधान गर्नुपर्छ ।”

उनले सरकारलाई उच्चस्तरीय कुटनीतिक र राजनीतिक पहल थाल्न सुझाव दिएको र यो कार्यमा कांग्रेसको पूर्ण साथ रहने बताएका छन् ।

देउवाले यसअघि नै भारतीय राजदूत मञ्जीवसिंह पुरीलाई टेलिफोन गरेर कालापानी र लिपुलेक नेपालको भूमि रहेको बताएका थिए।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कालापानीबाट भारतीय सेना फिर्ता गराउन सरकारले पहल थाल्न सरकारलाई सुझाव दिएको बताए ।

बैठकबाट बाहिरिएपछि पत्रकारहरुसँग उनले भने, “सरकारले विज्ञप्ति निकालेर मात्रै पुग्दैन, अतिक्रमित भूमि फिर्ता ल्याउन, कालापानीबाट भारतीय सेना फिर्ता गराउन भारतलाई भन्नुपर्छ ।”

उनले सरकारलाई नेपालतर्फको सीमा सुरक्षा बलियो बनाउन पनि सुझाव दिएको बताए ।

त्यस्तै राप्रपा संयुक्तका नेता एवम् पूर्व परराष्ट्रमन्त्री प्रकाशचन्द्र लोहनीले भारतीय राजदूतसँग स्पष्टिकरण सोध्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताए ।

भारतले नेपालको भूमि आफ्नो नक्साभित्र पारेकोले भारतीय राजदूतलाई बोलाएर त्यसबारे स्पष्टिकरण सोध्न बैठकमा सुझाव दिएको र त्यसमा सबै नेताहरु एकमत रहेको पनि लोहनीले जानकारी दिए ।

उनले भने, “कालापानीमा भारतले पहिले सेना राख्यो अहिले त्यो भूमिलाई आफ्नो नक्साभित्र पारेको रहेछ, यो गलत हो ।”

उनले सीमा विवाद कुटनीतिक तवरबाटै हल गर्न सुझाव दिएको बताए ।

त्यस्तै पूर्वप्रधानमन्त्री एवम् समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले सीमा विवाद कूटनीतिक तवरले नै सुल्झाउन सरकारलाई सुझाव दिएका छन् ।

बैठकबाट बाहिरिएपछि उनले भने, “लिपुलेक, कालापानी हाम्रो भूमि हो । सरकारले कुटनीतिक तवरबाट सीमा विवादहरु हल गर्नुपर्छ ।”

भारतले भने नेपाली भूमिलाई आफ्नो नक्सामा समावेश नगरेको दाबी गरेको छ ।

प्रकाशित: Nov 09, 2019| 15:06 शनिबार, कात्तिक २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।