काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले ऐतिहासिक तथ्यले पनि कालापानी र लिपुलेक नेपाली भू-भाग भएकाले आफूहरु सोही मान्यतामा अडिग रहेको स्पष्ट पारेका छन्। काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा भट्टराईले नेपाली भूभागलाई भारतीय नक्शामा राखेकोमा आफूहरुको गम्भीर ध्यानाकर्षण भएको स्पष्ट पारेका छन्।
उनले भने, ‘कालापानी नेपाली भू-भाग हो। ऐतिहासिक तथ्यले त्यही भन्छ। १९६२ देखि त्यहाँ बसेको भारतीय सेना हट्नुपर्छ। कालापानीलगायत सबै सीमा विवाद टुँग्याउनुपर्छ।’ उनले लिपुलेक पनि नेपालकै भएको बताए। भारत र चीनले लिपुलेकबारे गरेको सहमतिमा नेपालले आफ्नो पोजिसन राखिसकेको पनि उनले जानकारी दिए। लिपुलेकबारे भारत र चीनबीच भएको सहमति बेठिक भएको उनको दाबी छ। उनले भने, ‘यसबारे नेपालले दुवै देशलाई पत्राचार गरेर आफ्नो धारणा राखेको छ।’
वर्तमान सरकार प्रभावकारी कुटनीतिक पहलकदमी लिन सचेत रहेको उनको भनाइ छ। सीमा विवादबारे दुवै मुलुकको सहमतिमा मात्रै निष्कर्षमा पुग्नुपर्ने बताउँदै एकपक्षीय निर्णय अमान्य हुने उनको भनाइ छ। उनले भने, ‘जुनसुकै समस्याको समाधान कूटनीतिक निष्कर्षमा पुग्नुपर्छ।’