काठमाडौं - नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले भारतविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ। भारतले जारी गरेको नयाँ नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भू–भाग आफ्नोमा राखेको भन्दै विप्लव समूहले विरोधका कार्यक्रम सार्वजनिक गरेको हो।
बुधबार विज्ञप्ति जारी गरि सो पार्टीले एकहप्ते संघर्षका कार्यक्रम घोषणा गरेको हो।
संघर्षका कार्यक्रममा भारतीय दुतावासमा ज्ञापनपत्र बुझाउनेदेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाउनेसम्मका कार्यक्रम रहेका छन्।
विरोधका कार्यक्रमअनुसार कात्तिक २१ गते मसाल जुलुश, २२ गते कोणसभा, २३ गते भारतीय दुतावासमा ज्ञापनपत्र बुझाउने, २४ गते अतिक्रमित भारतीय नक्सा जलाउने, २५ गते विरोध प्रदर्शन गर्ने, २६ गते भारतीय प्रधानमन्त्रीको पुत्ला दहन गर्ने र २७ गते संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालयमा विरोध पत्र दिने रहेका छन्।
पार्टीले भारतको यो साम्राज्यवादी, अतिक्रमणकारी रवैया नेपालीमाथिको हमला भएको बताएको छ। उसले तत्काल उक्त नक्सा खारेज गर्न मागसमेत गरेको छ।
