काठमाडौैं- राजधानीबाट प्रकाशित मंगलबारका राष्ट्रिय दैनिक अखबारहरुले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई जेल पठाइएको र पूर्वमन्त्री मोहम्मद अफताव आलमविरुद्ध मुद्दा दायर गरेको विषयलाई मुख्य समाचार बनाएका छन् ।
यस्तै सरकारले सातै प्रदेशमा प्रदेशप्रमुखहरु नियुक्त गरेको विषयलाई पनि आजका पत्रपत्रिकाले प्राथमिकताका साथ छापेका छन् । तर, सत्तारुढ नेकपामा प्रदेश प्रमुखको नियुक्तिसँगै विवाद देखिएको छ ।
आजको नागरिक दैनिकले महरा पुर्पक्षका लागि थुनामा शीर्षकमा मुख्य समाचार छापेको छ भने आलमविरुद्ध सर्वस्वसहित जन्मकैद माग गर्दै मुद्दा दायर शीर्षकमा खबर लेखेको छ ।
यस्तै उसले प्रदेश प्रमुखको सिफारिससँगै नेकपामा विवाद बढेको विषयलाई पनि प्राथमिकता साथ छापेको छ ।
अन्नपूर्ण पोस्ट्ले महरा जेल चलान शीर्षकमा मुख्य समाचार छापेको छ भने सातै प्रदेशमा प्रमुख नियुक्त भएको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ ।
यस्तै अन्नपूर्णले गुणस्तर तथा नापतौल विभागले अनुगमनका क्रममा भान्छामा राखिएको ग्यास सिलिन्डर अत्यन्त जोखिमपूर्ण अवस्थामा भेटेको विषयलाई पनि महत्वका साथ छापेको छ।
आजको कान्तिपुरले सातै प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त भएसँगै नेकपाका वरिष्ठ नेता माधव नेपालले पार्टीमा फरक मत दर्ता गरेको विषयलाई मुख्य समाचार बनाएको छ ।
नेता नेपालले फरक मतमा भनेका छन्– क्षमतावान कमरेडहरु जिम्मेवारीविहिन हुने, पटकपटक चुनाव हारेका प्रदेश प्रमुख हुने, यस्तो निर्णय मलाई मान्य छैन् ।
यस्तै कान्तिपुरले महरा पूर्वआईजीपी ठकुरीसँगै सदरखोरमा शीर्षकमा खबर लेखेको छ भने आलमसहित ११ जनालाई जन्मकैदको माग गर्दै अदालतमा मुद्दा दर्ता भएको विषयलाई पनि महत्वका साथ छापेको छ ।
नयाँ पत्रिकाले भने आलमविरुद्ध जन्मकैदको माग गर्दै मुद्दा दायर भएको विषयलाई फरक एगंलबाट लेखेको छ ।
उसले आलमलाई मुद्दा लाग्दै गर्दा त्यहि जघन्य अपराधमा सहयोगी बनेको र उनीसँगै मुछिएका सबै प्रहरी अधिकारीलाई उन्मुक्ति दिएको विषयलाई मुख्य समाचार बनाएको छ ।
आलमलाई मुद्दा, तर जघन्य अपराधमा उनीसँगै मुछिएका सबै प्रहरीलाई उन्मुक्ति
आफैँले बनाउन लगाएको बम विस्फोट हुँदा घाइते भएकालाई जिउँदै इँटाभट्टामा हालेर जलाएको अभियोगमा पूर्वमन्त्री एवं सांसद मोहम्मद अफ्ताब आलमविरुद्ध जिल्ला अदालत रौतहटमा मुद्दा दायर भएको छ ।
तर, उनको यो जघन्य अपराधमा हिस्सेदार बनेका र संरक्षण गरेका प्रहरीका कुनै पनि अधिकारीमाथि मुद्दा चलेको छैन । प्रहरीका एसपीदेखि आइजिपीसम्म र सरकारी वकिलदेखि महान्यायाधिवक्तासम्मको मिलेमतोमा अपराधीलाई संरक्षण गरिएको प्रमाण मिडियाबाट छताछुल्ल भएको छ । तर, सबै शक्तिमानले छुटकारा पाएका छन् ।
२७ चैत ०६४ मा रौतहट राजपुर फरहदवा–४ सेख इद्रिस खालिहानको गोठमा भएको बम विस्फोटमा घाइते भएका पिन्टु भनिने त्रिलोकप्रताप सिंह, ओसी अख्तरसहितका युवालाई इँटाभट्टामा हालेर जिउँदै जलाइएको थियो ।
घटना प्रहरीकै सक्रियतामा दबाइएको नेपाल प्रहरीका तत्कालीन प्रहरी निरीक्षक इन्द्र सुवेदी, प्रहरी निरीक्षक राजीवप्रसाद बस्नेत र सइ ईश्वरविक्रम शाहले प्रहरीलाई गरिदिएको कागजले नै पुष्टि गरेको छ ।
घटना हुँदा सुवेदी राजापुर इलाका प्रहरी कार्यालयका सुरक्षा इन्चार्ज थिए । उनलाई साँझ साढे ६ बजे विस्फोट भएकोमा जिल्ला प्रहरी कार्यालयका एसपी लक्ष्मण न्यौपानेले फोन गरेर राति नै १० बजे सुवेदीलाई सदरमुकाम गौर सरुवा गरिदिएका थिए ।