शनिबार, साउन ३०, २०८३

झुपलालको प्रश्न- के सुन भेट्नु अपराध थियो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जुम्ला- कनकासुन्दरी गाउँपालिका-७ द्यारपाटा,  जुम्लाका ८० वर्षीय झुपलाल भन्ने नन्दलाल उपाध्याय आजसम्म पनि राज्यले आफूबाट लगेको सुनका असर्फी (सिक्का) फिर्ता नगरेको भन्दै आक्रोश व्यक्त गर्छन् । 

द्यारापाटा गाउँकै झावटी नामको गडा (गह्रा) मा जोत्दै गर्दा विसं २०४३ पुसमा तीन चाँदीका बाला र ६२ सुनका असर्फी पाइएका थिए ।

सिञ्जा खस साम्राज्य हुँदाको समयमा तत्कालीन राजाहरुले लुकाएको धन हुनसक्ने अनुमान गरिएका ती सुनका असर्फी नन्दलालका भाइ धनलाल उपाध्याय र हली (गह्रा जोत्ने) जोखे कार्कीले गाउँदेखि करीब दुई घण्टा टाढा रहेको झावटी गह्रामा जोत्न जाँदा भेट्टाएका थिए । सुन पाइसकेपछि गाउँका मान्छेहरुले एकपछि अर्को गर्दै थाहा पाए ।

भाइ र हली दुवैले पाएको सुन गाउँका नायक मुखियाहरुले केही भाग आफूलाई दिन आग्रह गरे पनि नन्दलालले दिन मानेनन्  । त्यसपछि नन्दलालले  सुन, हार, हिरा, माला, मुकुट, मूर्ति आदि भेटाइ लुकाएर राखेको भन्दै  मुखियाले  प्रशासनमा उजुरी हालेको उनको भनाई छ ।  

मुद्दा हालेपछि शुरुमा आफूसहित भाइ धनलाल, बुहारी देवीकन्या उपाध्यायका साथै हली जोखे कार्की पक्राउ परेको उनले बताए । त्यसपछि जार शाही, देवी सिंह, गोरखबहादुर, धनबहादुर कार्कीलगायतका व्यक्तिहरु पनि पक्राउ परेको नन्दलाल सुनाउँछन् । प्रशासनले ती चारै जनालाई दुई/चार दिन राखेर छाडे पनि आफूहरुले वर्ष दिनसम्म कष्ट काटेको उनको दुखेसो थियो ।
 
'तत्कालीन अञ्चलाधीश जगदीश खड्काको आदेशमा मसहित भाइ नन्दलाल उपाध्याय, बुहारी देवीकन्या उपाध्याय र जोखे कार्कीलाई पक्रेर लग्यो', उनले भने, 'तत्कालीन केन्द्रीय कारागार जुम्ला र क्षेत्रीय सुर्खेत गरेर एक वर्ष जेल सजाय भुक्तान गरेँ', दुःख पोख्दै उपाध्यायले सुनाए ।, 'चार जनाविरुद्ध हालिएको मुद्दा जितियो तर के गर्नु मुद्दा जिते पनि अहिलेसम्म हामीले आफ्ना सुनका ५७ असर्फी पाएका छैनौँ ।'

उनका अनुसार सुन भेटाउने हली जोखे कार्की र घरधनी धनलाल उपाध्यायको मृत्यु भइसकेको छ । यद्यपि आफूहरुले जितेको फैसला र फैसलाअनुसार पाउन नसकेको धन र क्षतिपूर्तिका विषयमा अहिलेसम्मका कुनै पनि सरकारले नबोलेको उनको गुनासो छ ।
 
प्रहरी प्रशासनमा काम गर्ने मुगु कार्कीबाडा निवासी दियप्रसादको सुराकीले आफूलाई अप्ठ्यारोमा पारेको उनको भनाइ छ ।

भुतपूर्व सहायकमन्त्री स्व अदनसिंह कठायतले तत्कालीन ऐन पल्टाएर आफूहरुलाई मुद्दा लगाएको र त्यही मुद्दाअनुरुप अञ्चलाधीशको अड्डामा ५७ सुनका असर्फी दाखिला गरिएको उपाध्यायले बताए । जुन सुनको असर्फीहरुको अभिलेख पुरातत्व विभागमा र वसन्तपुर सङ्ग्राहलयमा राखिएको  थियो ।
 
नन्दलालले भने, 'आफ्नै गडा (गह्रा) मा सुन पाउनु निकै ठूलो दुर्भाग्य भयो । हामी त वास्तविक सुनधनी हौँ, लुटेरा होइनौँ । सुन पाउनु हाम्रो अपराध थिएन न त कुनै भूल नै । बिडम्बना, तत्कालीन पञ्चायती राज्यसत्ताले आफ्नै गडा (गह्रा) मा पाएको सुनका असर्फी खोसेर मात्र लिएन, जेलमै कोचेर यातनासमेत दियो ।'

उनले अगाडि थपे, 'सुन पाउँदा अत्यधिक दुःख पाइयो । भाइ धनलाल उपाध्याय र हली जोखे कार्कीलाई  काठमाडौँ जेलमा सरुवा गरेर दुःख दिइयो । मैले जुम्ला, दैलेख, सुर्खेत, पोखरा धाउनुपर्‍यो । खल्तीमा धन पनि रहेन । न राज्यले हामीलाई चिन्यो, न त सुन पाइएको ठाउँको उत्खनन र जग्गाको उचित सुरक्षा गर्ने वातावरण मिलायो ।
 
'अन्ततः विसं २०४६ तिर मुद्दा हाम्रै पक्षमा फैसला भयो । उतिबेला नै फैसला हाम्रा नाममा भए पनि राज्यले हामीलाई ५७ सुनका (सिक्का) असर्फी वा त्यो बराबरको धन अहिलेसम्म फिर्ता गरेको छैन ।
रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।