काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आसन्न उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन आइतबार दिउँसो ३ बजेका लागि पदाधिकारी कैठक बोलाएको छ।
प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको टुंगो लगाउन कांग्रेस पदाधिकारी बैठक पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा ३ बजे बस्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
कास्की निर्वाचन क्षेत्र नम्बर–२ प्रतिनिधिसभा सदस्यका लागि र भक्तपुर (१ क), दाङ (३ ख) र बागलुङ (२ख) मा प्रदेशसभा सदस्य चयनका लागि मंसिर १४ गते
निर्वाचन हुँदै छ। यस्तै देशका विभिन्न स्थानीय तहमा पनि साेही दिन उपनिर्वाचन हुँदै छ ।
‘प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनका लागि उमेदवारको अन्तिम टुंगो लगाउन पदाधिकारी बैठक बोलाइएको हो’, प्रवक्ता शर्माले भने, ‘आजर जसरी पनि उमेदवार टुंग्याउनेछौं।’
पदाधिकारी बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र तेस्रो धारको नेतृत्व गर्दै आएका नेता कृष्णप्रसाद सिटौलालाई आमन्त्रित सदस्यका रुपमा बोलाउने निर्णय शुक्रबारको केन्द्रीय समिति बैठकले गरेको थियो। सोही बैठकले उपनिर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवारको टुंगो लगाउने जिम्मा पदाधिकारीलाई दिइएको थियो।
कांग्रेसले उपनिर्वाचन भइरहेका चारवटै जिल्ला कार्यसमितिलाई समावेशी सिद्धान्तका आधारमा तीन जना आकांक्षीको नाम सिफारिस गर्न परिपत्र गरेको थियो। कास्की–२ बाट १६ जना, भक्तपुरबाट १०, दाङबाट १४ र बागलुङबाट चार जना आकांक्षीको नाम सिफारिस भएको सो पार्टीले जनाएको छ। आकांक्षीहरु बढी भएपछि कांग्रेस नेतृत्वलाई उम्मेदवारको टुंगो लगाउन सकस परेको छ।
कांग्रेस विधानअनुसार उम्मेदवारको टुंगो लगाउने अधिकार पार्टीको संसदीय समितिलाई भए पनि संसदीय समिति गठन हुन सकेको छैन। निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार प्रतिनिधि सभा र प्रदेश सभाका लागि कात्तिक २१ गते मनोनयन पत्र दर्ताको मिति तोकिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४