काठमाडौं - अष्ट्रेलियाले श्रीलंकाविरुद्धको तीन खेलको टी-ट्वान्टी सिरिजमा क्लिन स्विप गरेको छ। शुक्रबार भएको तेस्रो तथा अन्तिम खेलमा ७ विकेटको जित निकाल्दै अष्ट्रेलियाले सिरिज ३-० ले आफ्नो पक्षमा पारेको हो।
श्रीलंकाले दिएको १ सय ४३ रनको लक्ष्य अष्ट्रेलियाले १७ ओभर ४ बलमा ३ विकेट क्षतिमा पुरा गर्यो। अष्ट्रेलियाका लागि डेभिड वार्नरले अविजित ५७ रन बनाए। सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका वार्नरले यसअघि पहिलो खेलमा अविजित एक सय रन बनाएका थिए भने दोस्रो खेलमा पनि अविजित ६० रन जोडेका थिए।
यस्तै अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले ३७ तथा एस्टन टर्नरले अविजित २२ रन जोडे। श्रीलंकाका लासिथ मालिंगा, लाहिरु कुमारा र नुवान प्रदीपले १/१ विकेट लिए।
टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो। श्रीलंकाका लागि कुशल परेराले ५७ तथा अभिस्का फर्नान्डोले २० रन जोडे। भानुका राजपाक्ष भने १७ रनमा अविजित रहे।
अष्ट्रेलियाका मिचेल स्टार्क, केन रिचार्डसन र पाट कुमिन्सले २/२ विकेट लिए।
यसअघिको पहिलो खेलमा अष्ट्रेलियाले १ सय ३४ रन तथा दोस्रो खेलमा ९ विकेटको जित निकालेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४