काठमाडौं- सन् २०२० मा अस्ट्रेलियामा आयोजना हुने आईसीसी टी-२० विश्वकप क्रिकेट खेल्ने १६ टिमको तय भएको छ।
युएईमा बुधबार राति भएको ग्लोबल छनोटको अन्तिम इलिमिनेटरपछि विश्वकपमा सहभागी हुने टिमको टुंगो लागेको हो। उक्त खेलमा ओमानले हङकङलाई १२ रनले पराजित गर्दै विश्वकपमा स्थान बनाएको छ।
ग्लोबल छनोटबाट ओमानसँगै स्कटल्याण्ड, नामिबिया, नेदरल्यान्ड, आयरल्यान्ड र पपुवा न्युगिनी विश्वकपका लागि छनोट भएका छन्। यीमध्ये नामिबिया र पपुवा न्युगिनीले भने पहिलो पटक विश्वकपमा स्थान बनाएका हुन्। उक्त छनोटमा १४ टिम सहभागी थिए।
आईसीसीको टी-२० वरियताका शीर्ष ८ टिम भने छनोट नखेली विश्वकपमा छनोट भइसकेका छन्, जसमा पाकिस्तान, भारत, इग्ल्यान्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, न्युजिल्याण्ड, वेस्ट इन्डिज र अफगानिस्तान छन्।
अब ग्लोबल छनोटबाट आएका ६ टिम तथा बंगलादेश र श्रीलंकाले समूह चरणमा प्रतिस्पर्धा गर्नेछन्। दुई समूहमा विभाजन गरेर खेलाइने समूह चरणबाट चार टिमले सुपर–१२ मा स्थान बनाउने छन्।
सुपर-१२ मा पुगेका टिमले आईसीसी वरीयताका शीर्ष आठ टिमसँग खेल्ने छन्।
दुई समूहमा विभाजन गरेर खेलाइने सुपर-१२ को समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४