शनिबार, साउन ३०, २०८३

आज काग तिहार तथा धन्वन्तरि जयन्ती

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज यमराजको दूतका रुपमा कागलाई मीठो मीठो चीज खान दिएर मनाइँदैछ। 

कार्तिक कृष्ण त्रयोदशीकै दिन सुरु हुने यमपञ्चक भने यस वर्ष तिथिको घटबढका कारण शुक्रबार बेलुकीदेखि नै सुरु भएको छ। शुक्रबार बेलुकी त्रयोदशी तिथि लाग्ने भएकाले यमपञ्चक सुरु गर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

यसैगरी लक्ष्मीस्थिर राख्नका लागि गरगहना एवं तामाका भाँडाकुँडा किन्ने धनतेरस पर्व पनि शुक्रबार बेलुकी नै मनाइएको छ। यस दिन गरगहना तथा भाँडाकुँडा किनेमा लक्ष्मी घरमै स्थिर भई बस्ने धार्मिक मान्यता छ। 

बिहान त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा शनिबारलाई निर्णय गरिएको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए। यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ। कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो मीठो खान दिई खुसी पार्ने गरिएको हो।

लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत रहेको छ। काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ। “काकेन दधि भक्षितम्” अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराज समक्ष राम्रो सन्देश लगिदिने भएकाले कागलाई दही भात खुवाउने प्रचलन रही आएको छ।  

दुष्कर्म गर्नेलाई यमराज भएर दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वाससहित पनि तिहार पर्व गाँसिएको छ। यम यातनाबाट मुक्तिका लागि परिवारका सबै सदस्यका नाममा यम दीप दान गर्ने क्रम भने शुक्रबार साँझदेखि नै सुरु भएको छ। यम दीप दान दक्षिण फर्काएर गर्नुपर्ने वैदिक सनातन धार्मिक विधि रहेको छ । 

धन्वन्तरि जयन्ती

वन जङ्गलमा पाइने जडिबुटीमा आधारित प्राचीनतम वैदिक चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरिको उत्पत्ति भएको सम्झनामा आज देशभर विविध कार्यक्रम गरी धन्वन्तरि जयन्ती मनाइँदैछ।

देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाइ समुद्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कार्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान् धन्वन्तरिको उत्पत्ति भएको चर्चा वैदिक सनातन हिन्दू ग्रन्थमा गरिएको छ।

आजको दिनलाई आयुर्वेदका चिकित्सकहरुले सत्सङ्कल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रुपमा लिने गर्छन्। काठमाडौँको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत् धन्वन्तरि जयन्ती मनाउन थालिएको थियो। त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पसका रुपमा सञ्चालित आयुर्वेद क्याम्पस हाल कीर्तिपुरमा सरेको छ।

आयुर्वेद क्षेत्रका व्यक्तिहरुको पहलमा विसं २०५६ देखि धन्वन्तरि जयन्तीको दिनलाई आरोग्य दिवसका रुपमा पनि मनाउन थालिएको छ। हातमा वैदिक हिन्दू दर्शनका चार उपवेदमध्येको आयुर्वेदको पुस्तक र प्रकृतिले दिएको औषधिको प्रतीकका रुपमा जडिबुटी लिएका धन्वन्तरिलाई आयुर्वेद चिकित्सा क्षेत्रका संस्थापक मानिन्छ।

धन्वन्तरि जयन्तीका अवसरमा आज सिंहदरबार वैद्यखाना, आयुर्वेद अस्पताल नरदेवी, आयुर्वेद क्याम्पस कीर्तिपुर, नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद क्याम्पस दाड., जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड कोटेश्वर र निजी क्षेत्रबाट खुलेका आयुर्वेद अस्पतालमा समेत विविध कार्यक्रम गरी मनाउने गरिन्छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।