काठमाडौं– सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहसँग वार्ता प्रक्रिया अगाडि बढाउने तयारी थालेको छ।
यसअघि विप्लव र सरकारबीचको अनौपचारिक वार्तामा सक्रिय भएका नेकपा नेताहरुले नै वार्ताका लागि मध्यस्थता सुरु गरेको नेकपा निकट स्रोतले जानकारी दिएको छ ।
‘प्रधानमन्त्री ओलीकै आग्रहमा पहिले राजनीतिक तहमा अनौपचारिक वार्ता गर्ने र सकारात्मक हुँदै गए सरकारले औपचारिक वार्ता गर्ने तयारी छ,’ स्रोतले भन्यो ।
वार्ताको तयारीका लागि विप्लव समूहका केही नेताहरु काठमाडौं आइपुगेको पनि बुझिएको छ ।
विप्लवका नेता–कार्यकर्ताहरु धमाधम पक्राउ परेको र आर्थिक रुपमा पनि उक्त संगठन कमजोर हुँदै गएको निस्कर्ष निकाल्दै सरकार अहिले वार्ता गर्नु उपयुक्त हुने निचोडमा पुगेको हो ।
विप्लव समूहको हालै सम्पन्न आठौं केन्द्रीय समिति बैठकले पनि सरकारसँग वार्ताका लागि आफू सकारात्मक रहेको निर्णय गरेको थियो ।
यसअघि विप्लव समूहले सरकारद्वारा गठित ‘राजनीतिक वार्ता समिति २०७५’ सँग वार्ता गर्न अस्वीकार गरेको थियो । तर, अहिले उक्त समूहले वार्ताका लागि पहल गर्नुलाई ‘सकारात्मक
वातावरण’ बनेको बताउँछन्, तत्कालीन वार्ता समितिका संयोजक सोमप्रसाद पाण्डे।
उनी भन्छन, ‘ अहिले उपयुक्त वातावरण बनेको छ, यसलाई दुवै पक्षले उपयोग गर्नु पर्छ, चाँडै वार्ता गरेर समस्याको समाधान गर्नुपर्छ।’
विप्लव समूह र सरकारी पक्षबीच यसअघि भएको अनौपचारिक वार्तामा विप्लव समूहले आफ्नो संगठनमाथिको प्रतिबन्ध फुकुवा र मुद्दा फिर्ता लगायतका माग राख्दै आएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४