शनिबार, साउन ३०, २०८३

मोहना पुल-अत्तरिया ६ लेन सडक निर्माण सुस्त 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी-  गत जेठमै निर्माण सम्पन्न हुनुपर्ने मोहना पुल-अत्तरिया ६ लेन सडकको निर्माण  कार्य अहिलेसम्म  ५५ प्रतिशत भएको छ । 

तोकिएको समयमा निर्माण सम्पन्न नभएपछि यात्रु, सर्वसाधारण र व्यापारीले सास्ती पाएका छन्। सडकमा उड्ने धुलोले यात्रा सकसपूर्ण हुने गरेको यात्रु बताउँछन्। कैलालीको गौरीगंगा नगरपालिकाबाट धनगढी पुगेकी निर्मला ढाँट भन्छिन्, “सडकमा यात्रा गरे स्वस्थ मानिस पनि बिरामी पर्ने अवस्था छ।” उनी सडक निर्माण छिटो हुनुपर्ने बताउँछिन्। 

धनगढी, क्याम्पस रोडका कमल बोहरा पनि उस्तै दुखेसो छ। सडकमा धुलो उड्दा दुई पांग्रे सवारी चलाउनै मुस्किल भएको उनी बताउँछन्। “ठूलो सवारी साधनले उडाएको धुलोले दुई पांग्रे सवारी चलाउनै मुस्किल हुन्छ,” उनी भन्छन्। 



यात्रु मात्रै होइन, सडकमा उड्ने धुलोले सडक छेउमा व्यापार व्यवसाय गर्दै आएका व्यवसायी पनि हैरान छन् । धुलोका कारण व्यापार व्यवसाय चौपट भएको सडक छेउका होटल व्यवसायी बताउँछन्। सडकमा पर्याप्त पानी नहालिँदा धुलो उडेको व्यापारीको आरोप छ। 

आयोजनाका प्रमुख तथा इञ्जिनियर होमबहादुर एसी साइड क्लियर गर्न समय लागेपछि तोकिएको समयमा निर्माण नसकिएको बताउँछन्। “तोकिएको समयमा काम नसकिएपछि निर्माण अवधि एक वर्ष थप्ने तयारीमा छौं,’ उनले भने, “यसका लागि प्रक्रिया पनि सुरु भइसकेको छ ।” 

समयमै सडक निर्माण नभएपछि दुर्घटनाको जोखिम पनि बढेको छ। धनगढी उपमहानगरपालिका-२ का तपेन्द्र खड्का सडकका खाल्डाखुल्डीका कारण दुर्घटनाको जोखिम बढेको सुनाउँछन्। 

पुल निर्माणमा ढिलाइ 

६ लेन सडकमा पर्ने पुल निर्माणमा समेत ढिलाइ हुने भएको छ। सडकमा पर्ने तीन ठूला पुल निर्माणका लागि ठेक्का आह्वानसमेत हुन सकेको छैन। 

सडक आयोजनाअन्तर्गत मोहना पुल, मनहरा पुल र गेटी खोला पुल निर्माण गरिँदैछ । यी पुलको ठेक्का आह्वान हुन नसक्दा सडक निर्माण सम्पन्न हुन ढिलाइ हुने भएको छ । 

इन्जिनियर एसीले पुल बन्ने प्रक्रिया अघि बढेको बताउँछन् । “पुलको डिजाइन र सर्भे रिपोर्ट बनिसकेको छ,” उनले भने, ‘सडक विभागको पुल महाशाखाले पुलको डिजाइन र सर्भे चेक गरिसकेपछि प्रक्रिया अघि बढ्छ ।”

तीन खण्डमा निर्माण भइरहेको सडकको लागत १ अर्ब ६८ करोड रूपैयाँ छ। 

मोहना पुलदेखि बोराडाँडीसम्मको ४.५ किलोमिटर सडक शर्मा-अमर-नागार्जुन जेभीले निर्माण गरिरहेको छ । यस्तै, बोराडाँडीदेखि गेटाको आरपी प्लोर मिलसम्मको ४.५ किलोमिटर सडक लामा-राजेन्द्र-डाँफे जेभीले निर्माण गरिरहेको छ। 

२०७४ जेठ ६ मा निर्माण सुरु गरिएको सडक २०७६ जेठमा सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।