काठमाडौं- मंसिर १४ गते हुने उपनिर्वाचनका उम्मेदवारहरुको टुंगो लगाउन नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।
दिउँसो २ बजेपछि केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठक उपनिर्वाचनका उम्मेदवार छनोटका विषयमा केन्द्रित हुने नेताहरूले बताएका छन् ।
कांग्रेसलाई उम्मेदवार छनोटमा सबैभन्दा बढि सकस कास्कि क्षेत्र नम्बर २ मा देखिएको छ । तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि रिक्त भएको यस क्षेत्रमा कांग्रेसका आकांक्षी धेरै देखिएका छन् । आकांक्षीको होड देखिएपछि उम्मेदवार छनोट गर्न सकस परेको हो ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार केही स्थानीय तहका उम्मेदवारको नाम सिफारिस भएर आइसकेको छ । उनका अनुसार, धरान उपमहानगरपालिकाको मेयरमा तिलक राईको मात्र नाम सिफारिस भएको छ । अन्य स्थानीय तहका उम्मेदवारहरु पनि छानिएका छन् ।
यस्तै आजको बैठकमा पार्टी भातृसंगठनका विवादबारे पनि छलफल हुने एजेन्डा छ । कांग्रेस भातृसंगठन नेपाल विद्यार्थी संघ, तरूण दललगायतको कार्यकाल समाप्त भए पनि अधिवेशन हुन सकेको छैन । अधिवेशनको मिति तय नगर्दा यी संगठनहरू निष्क्रिय हुनुका साथै विवादमा फसेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४