काठमाडौं- प्रहरीले बलात्कारपछि हत्या गरेको घटनामा संलग्न एक व्यक्तिलाई १९ वर्षपछि पक्राउ गरेको छ।
कर्तव्य ज्यान मुद्दाका फरार कसुरदार झापा भद्रपुर नगरपालिका-९ घर भएका ४२ वर्षीय लीलाराज गौतमलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो।
कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतबाट जन्मकैद फैसला सुनाइएका गौतमलाई इन्टरपोलको सहयोगमा अमेरिकाको मियामीबाट पक्राउ गरी बुधबार काठमाडौं ल्याइएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।
उनलाई बुधबार नै जिल्ला अदालतको आदेशले कारागार कार्यालय, डिल्लीबजार चलान गरिएको ब्युरोका प्रहरी उपरीक्षक आभूषण तिमिल्सिनाले जानकारी दिए।
२०५७ असोज २९ गते राति सन्ध्या राजवंशीलाई सीताराम बस्नेतले घरबाट बोलाइ लगेको तथा गौतम र मनोज खड्कासमेतले करणी गरी घाँटी थिची हत्या गरेर रुखमा झुण्ड्याइ भागेका थिए।
असोज ३० गते बिहान झापाको चारआली जंगलमा सन्ध्याको शव झुण्डिएको अवस्थामा फेला परेको थियो। सोही घटनामा सर्वोच्चले गौतमलाई दोषी ठहर गरेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४