काठमाडौं - आइटी क्षेत्रमा चर्चित भारतीय मल्टिनेशनल कम्पनी इन्फोसिसले मंगलबार एकैदिनमा रु. ८४ करोड ८० लाख गुमायो। कम्पनीका सिईओ सलिल पारेख र सिएफओ निलंजन रायले नाफा बढाउनको लागि खाता हेरफेर गर्ने कोसिस गरेको बेनामे उजुरी परेको हल्लापछि सेयर बजारमा इन्फोसिसको मूल्य घट्दा सो रकम गुमेको हो।
हल्लाका भरमा सेयरबजारमा आउने उतार चढावको यो गतिलो उदाहरण हो। पछिल्लो समय नेपाली सेयर बजारमा समेत यस्तै नकारात्मक हल्लाको पनि प्रभाव परेको देख्न सकिन्छ।
केहीअघि सरकारले सम्पत्ति शुद्धिकरण निवारण ऐन अनुसारको कारबाही सेयर बजारमा पनि गर्न थालेपछि धेरै लगानीकर्ता कुरा नबुझेरै त्रसित भए। सरकारले १० लाख भन्दा माथिको कारोबारमा ब्रोकर कम्पनीले निगरानी बढाई शंकास्पद कारोबार भएमा नेपाल राष्ट्र बैंकमा रहेको वित्तीय जानकारी इकाईलाई सूचित गर्न अनिवार्य गरेको छ। तर बजारमा भने यसले पनि मनोबैज्ञानिक त्रास फैलायो, जसको नकारात्मक असर बजारमा पर्यो।
त्यस्तै, अर्थमन्त्री भएको केही दिनमा नै मन्त्री युवराज खतिवडाले सेयर बजारलाई अनुत्पादक क्षेत्र भनिदिंदा बजार ह्वात्तै ओराला लाग्यो र लगानीकर्ताहरुमा अर्थमन्त्री सेयर बजारमैत्री छैनन् भन्ने भ्रमले जरा गाड्यो। केही महिनाअघि फेरि उनले सञ्चयकोष र नागरिक लगानी कोष जस्ता संस्थाले पनि सेयर बजारमा लगानी गर्न सक्ने गरी नीति बनाइने भनेपछि बजार केही उकासिएको थियो।
यद्यपि, २०७३ साउन १२ गते भएको रु. २ अर्ब ७० करोड भन्दा बढीको सेयर कारोबार नै अहिलेसम्मको उच्च कारोबार हो। त्यसदिन सेयर बजार अहिलेसम्मकै उच्च विन्दु १८८१ मा पुगेको थियो।
त्यसयता खस्कंदै गएको सेयर बजार फेरि उकासिन सकेको छैन। मंगलबारको सेयर कारोबारलाई नै हेर्ने हो भने जम्मा १६ करोड ५२ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ।
विगतका तथ्यांकहरु केलाउँदा सामान्य दिनमा पनि रु. ७० करोडको हाराहारीमा कारोबार हुने बजार अहिले रु. २० करोड भन्दा मुनी खुम्चिएको छ। बजारमा १५ प्रतिशत भन्दा बढी लाभांश घोषणा गरेका केही कम्पनीहरुको सेयर मूल्य अहिले दोस्रो बजारमा रु. १०५ देखि ११५ मात्रै छ।
सरकारले गरेको कर वृद्धि, बैंक तथा वित्तीय संस्थाहरुमा तरलताको अभाव, विभिन्न समयमा आउने अर्थमन्त्रीका नकारात्मक टिप्पणीले पनि सेयर बजारमा प्रभाव परिरहेको देखिन्छ।
बैंकहरुले निक्षेपमा बढाएको ब्याजका कारण पनि लगानीकर्ताहरु जोखिमपूर्ण लगानी गर्नुभन्दा ब्याज खानमै ढुक्क भए। त्यस्तै यस वर्षमात्रै विभिन्न कम्पनीहरुले रु. १५ अर्बको हाराहारीमा बण्ड, हकप्रद र आइपीओ सेयर जारी गर्दा लगानीकर्ता त्यसतर्फ पनि आकर्षित हुन पुगे, यसकारण पनि बजार उकालो लाग्न नसकेको जानकारहरु बताउँछन्।
यद्यपि, सरकारले गैरआवसीय नेपालीहरुलाई सेयर बजारमा लगानी गर्न प्रोत्साहित गर्ने नीति अवलम्वन गरेको छ। त्यसको कार्यविधि कार्यान्वयनमा आएपछि बजारमा केही सुधार आउने बजार विश्लेषकहरुको धारणा छ।
अर्थमन्त्री खतिवडा सेयर बजारप्रति नकारात्मक रहेको भन्ने आरोपसँगै बजार उकास्न उनीमाथि बढ्दो दबाबका कारण खतिवडा अहिले लगानीकर्ताको मनोबल उकास्न लागि परेको अर्थमन्त्रालय सम्वद्ध स्रोतको भनाई छ।
उसो त उनका पछिल्ला अभिव्यक्तिहरु सेयरबजारप्रति सकारात्मक नै छन्। कर्मचारी संचयकोषको वार्षिकोत्सवमा उनले लगानी गर्ने उपयुक्त अवसर आएको भन्दै सरकारले सेयर बजार सुधारका लागि प्रयास गरिरहेको बताएका थिए।
देशमा लगानीको वातावरण बन्दै गर्दा सेयर बजारमा पनि नयाँ लगानीकर्ताको आगमन हुने दावी अर्थमन्त्रीको थियो। अर्थमन्त्री डा.खतिवडाको भनाइको असर विस्तारै देखिने विश्लेषकहरुको दाबी छ।
नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुरारी पराजुलीका अनुसार अहिले बजारमा लगानीकर्ताको आत्मविश्वास गुमेको अवस्था छ। तर विस्तारै आत्मविश्वास फर्किएर बजार पहिलेको गतिमा नै अगाडि बढ्ने उनको दाबी छ।
नेप्सेले गरेको अनलाई ट्रेडिङको व्यवस्था, धितोपत्र बोर्डले सेयर बजारमा सुधारको लागि गरिरहेको कामको प्रभाव पनि तिहारपछि पर्ने सेयर बजार विश्लेषक तथा पुर्व बैंकर अनलराज भट्टराई बताउँछन्। बोर्डले बजार सुधारका लागि आस्वा प्रणाली लागू गरेको छ भने न्युनतम १० कित्ता अनिवार्य पाउने व्यवस्था गरेको छ।
एफपीओको मूल्य निर्धारणको मापदण्ड तय गरी एकपटक एफ्पीओ जारी गरेपछि पाँच वर्षसम्म एफपीओ जारी गर्न नपाउने व्यवस्था गरिएको अन्तर्राष्ट्रिय वित्तीय संस्थाले स्थानीय मुद्रामा ऋणपत्र जारी गर्न पाउने प्रावधान गरेको छ। जसले लगानीकर्ताहरुलाई सहज भई थप लगानीकर्ता भित्रने विश्वास बोर्डको छ।
त्यस्तै बोर्डले दोस्रो बजारको सुधारको लागि अटोमेशनको सुरुवात गरी तीन दिनभित्र नामसारी राफसाफ हुने व्यवस्था गरेको छ। भने धितोपत्र कारोवारमा लाग्ने दलाल व्यवसायी शुल्कलाई समसामयिक वनाई ४० प्रतिशतसम्म कम गरिएको, लगानीकर्ताले अनलाईनमार्फत नै मार्केट डेप्थ हेर्न सक्ने व्यवस्था गरेको छ, भने क्लियरिङ बैंक दुईवटा थपिएको र विक्री नभएको हकप्रद सेयर लिलाम प्रक्रियामा उपत्यका वाहिरको प्रमुख केन्द्रहरुवाट समेत आवेदन दिनसक्ने व्यवस्था गरिएको छ। जसले दोस्रो बजार विस्तार र विकासको लागि प्रत्यक्ष वा अप्रयक्ष फाइदा पुग्नेछ। त्यसैले आगामी दिनमा बजार बढ्ने संकेत देखिएको बजार विश्लेषकहरुको दाबी छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४