कैलाली– गरिमा र सिन्दुरी जातका धानको बिउ लगाएका कैलाली र कञ्चनपुरका किसानहरु धानमा बाला नलागेपछि चिन्तित भएका छन् । धान नपसाउँदा यसपाली उनीहरुले करोडौं रुपैयाँ बराबरको क्षति व्यहोर्नुपरेको छ ।
भारतबाट आयातित वर्णशंकर जातका यि धानको बिउ सरकारले नै सिफारिस गरेको थियो ।
अरु जातको धान खेती गरेका किसानहरु धान काटेर धमाधम खलिहान भरिरहँदा दुई जल्लाको करिब ३४९ हेक्टरमा गरिमा र सिंदुरी धान खेती गर्ने १ हजार २०० किसान चिन्तित छन् ।
धनगढी उपमहानगरपालिका– ३ की पार्वतीदेवी विकले गत असारमा उन्नत जातको बीउ भन्दै आफ्नो १० कट्ठा खेतमा गरिमा जातको धान रोपिन् । समयमै सिचाइँ, गोडमेल र मलखाद हालेकी उनी धानमा बाला नलागेपछि टाउकोमा हात राखेर बसेकी छन् ।
वर्षको मुख्य बाली धान नै नफलेपछि यसवर्ष हातमुख कसरी जोर्ने भन्ने चिन्ताले किसानहरुलाई सताएको छ । धनगढीकै सरस्वती विकले सिन्दुरी जातको धानको बिउ किन्न रु. २५ सय ऋण लिइन् । १५ कट्ठा जग्गामा यो जातको धानखेती गरेकी उनले मल र सिचाइँका लागि थप ५ हजार ऋण लिइन् ।
“धान बेचेरै ऋण तिरौंला, आफूलाई खान पनि होला भन्ने सोचेको अब खानकै धौ धौ हुने भयो,” उनी भन्छिन् ।
कैलालीको गौरीगंगा नगरपालिका– ९ का किसान जगन्नाथ देवकोटा भन्छन्, “१० कठ्ठा जग्गामा सिन्दुरी र गरिमा लगाएको, अहिले सम्म बाला लागेको छैन । अब के खाने भन्ने चिन्ता छ ।”
कतिपय किसानहरुले बाला नलागेको धान काटेर गाइवस्तुलाई खुवाएका छन् ।
३ करोडको क्षति
धानमा बाला नलाग्दा कैलाली र कञ्चनपुरमा मात्रै रु. ३ करोड रुपैयाँ बराबरको क्षति भएको सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता खगेन्द्रप्रसाद शर्मा किसानलाई राहत उपलब्ध गराउनेबारे छलफल भइरहेको बताउँछन् । तर, प्रदेश सरकारसँग किसानलाई राहत दिनका लागि यथेष्ट बजेट नभएका कारण संघीय सरकारसँग अनुरोध गरिने उनी बताउँछन् ।
यसैबीच कृषि ज्ञान केन्द्रले बाला नलागेको धान नकाट्न किसानहरुलाई भनेको छ । कृषि ज्ञान केन्द्रका प्रमुख राजन ढकालले किसानहरुलाई क्षतिपूर्ति दिनका लागि गरिने मूल्याङ्कनमा अप्ठ्यारो पर्ने भएकाले केही दिन धान नकाट्न आग्रह गरिएको बताए ।
उनका अनुसार यो जातको धानको डिएनए परीक्षण भइरहेकाले अझै एक साता कुर्नुपर्ने छ । तर, हिउँदे बाली लगाउन ढिलो हुनेभन्दै किसानहरुले धान काट्न शुरु गरिसकेका छन् ।
चितवनमा पनि उस्तै
चितवनमा पनि गरिमा जातको धान नपसाएपछि किसानहरुले धमाधम हरियो बोट काटिरहेका छन् ।
सरकारले सिफारिस गरेर सूचीकृत गरेको धानको बिउ लगाउँदा पनि बोट नपसाएपछि उनीहरुले धान खेती गर्दा लागेको सम्पूर्ण खर्चको क्षतिपूर्ति सरकारले दिनुपर्ने माग गरेका छन् ।
चितवनमा धानमा बाला नलागेपछि राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमबाट असोज छ गते चार सदस्यीय विज्ञ टोलीले समस्याग्रस्त केही धानखेतको स्थलगत निरीक्षण गरेको थियो ।
उक्त धान गरिमा प्रजाति कै हो कि होइन भन्ने यकिन गर्न परीक्षणको लागि नमुना लगिएको भएपनि त्यसको प्रतिवेदन हालसम्म आइनसकेको किसानहरूले बताएका छन्।
व्यवसायीहरूले धानको बिउ बिक्री गरेको तथ्यांकलाई आधार मानेर हेर्दा चितवनमा करीब ९५० बिगाहमा गरिमा जातको धान लगाइएको हुनसक्ने अनुमान कृषि ज्ञान केन्द्र चितवनले गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४