काठमाडौं - तिहार गीतमा लागुऔषध प्रयोगलाई प्रवर्द्धन गरेको आरोपमा नेपाल प्रहरीले गायक दुर्गेश थापालाई नियन्त्रणमा लिएको छ।
महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका प्रमुख सहकुल थापाले गायक थापालाई नियन्त्रणमा लिइएको बताए। महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको गोंगबुबाट थापालाई पक्राउ गरेको हो।
गायक थापाले रिलिज गरेको पछिल्लो ‘ह्यापी तिहार’ नामक गीतले लागुऔषध प्रयोगलाई प्रवर्द्धन गरेको, देउसी भैलोको गीतलाई बङ्ग्याएको उजुरीपछि पक्राउ गरिएको महाशाखाले जनाएको छ। थापाको गीतका विरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो।
हाल थापा महाशाखामा रहेका छन् र उनीसँग गीतका बारेमा सोधपुछ हुँदैछ।
यसैबीच थापाले उक्त गीतलाई यूट्यूवबाट हटाएका छन्। थापाको गीतले देउसीलाई विकृत तरिकाले प्रस्तुत गरेको र संस्कृति विगारेको आरोप लागेको छ। साथै गीतमा वीयरको प्रचार पनि गरिएको छ। यूट्यूवमा राम्रो भ्यूज बटुले पनि अत्याधिक आलोचना भएको थियो। आलोचनाका कारण थापाले कमेन्ट बक्स नै खाली गरिदिएका थिए।
उनले गाएको देउसीसम्बन्धी गीतमा ‘ए निकाल गाँजा, खानुपर्छ आज’ भन्ने अंश समावेश छ। जुन कानूनी रुपमा गलत भएको उजुरीकर्ताको दाबी छ। उनले गीतमार्फत तिहारका बेला वियर खाने प्रचार गरेको भन्दै सामाजिक संजालमा पनि आलोचना भएको थियो।
तिहारको गीतमा दुर्गेशले गाएका छन्- डन आयो डन, जा मूला भन्, राजा हो राजा, बजाइदिन्छ बाजा, ए निकाल गाँजा, खानुपर्छ आज !
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४