काठमाडौं- सत्तारुढ दल नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' हिजोआज अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति सार्वजनिक रुपमै असन्तुष्टि व्यक्त गरिरहेका छन्।
कहिले मिलेको त कहिले बिग्रेको देखिने यी दुई अध्यक्षबीचको सम्बन्धले देशकै राजनीतिलाई पनि तरंगित पार्ने गर्छ ।
दुई अध्यक्षबीचको सम्बन्धमा चिसो पन बढदै जाँदा लामो समयदेखि पार्टी स्थायी कमिटीको बैठक बस्न सकेको छैन भने सचिवालय बैठकमा पनि महत्वपूर्ण विषयहरुमा छलफल भएको छैन।
पार्टी र सरकार सञ्चालनमा दुई अध्यक्षबीच खासै छलफल नहुँदा प्रचण्डमा असन्तुष्टि देखिएको उनी निकट नेकपा स्थायी कमिटी सदस्य हरिबोल गजुरेल बताउँछन् ।
शक्तिमा नरहँदाको छटपटी
राजनीतिक विश्लेषक पुरञ्जन आचार्य प्रचण्ड शक्तिमा रमाउने व्यक्ति भएको तर, अहिले उनी पार्टी र सरकार दुबैतिर निर्णायक शक्तिका रुपमा नरहँदा छटपटी बढेको बताउँछन् ।
उनले नेपाल समयसँग भने, 'प्रचण्ड ठूलो पार्टीको नेतृत्व गरेर सुप्रिम कमाण्डर भएका व्यक्ति हुन् तर, पछिल्ला दिनहरुमा उनी न सत्ता न पार्टीको नेतृत्वको अवस्थामा छन्। अहिले दुई अध्यक्षबीच देखिएको असन्तुष्टि त्यसैको छटपटी हो।'
आचार्य ओलीमा पनि चुनाव आफ्ना कारणले मात्र जितेको भन्ने 'घमण्ड' का कारण उनले सर्वेसर्वा आफूलाई मात्र देखिरहेको बताउँछन् । आचार्यले भने जस्तै हालै दुई दैनिक कान्तिपुर र अन्नपूर्ण पोस्टलाई दिएको अन्तर्वार्तामा पनि ओलीले प्रचण्डप्रति असन्तुष्टि पोखेका छन्।
विश्लेषक आचार्य भन्छन्, 'माओवादी र एमालेबीचको एकीकरण स्वार्थको गठजोड थियो, यसमा कुनै सैद्धान्तिक छलफल भएर पार्टी एकीकरण भएको होइन। प्रचण्डलाई शेल्टर चाहिएको थियो, ओलीलाई चुनाव जित्नु थियो। तत्कालीन स्वार्थका कारण दुबै मिलेका हुन् ।'
एकीकरणका बेला दुबैको स्वार्थपूर्तिका लागि एउटा पार्टीमा दुई अध्यक्ष बने पनि यो टिक्ने कुरा नभएको आचार्यको भनाई छ ।
उनी भन्छन्, 'कम्युनिष्ट पार्टीमा नेताले सबैलाई आफ्नो अण्डरमा राख्ने सामान्य प्रवृत्ति नै हो । शास्त्रीय कम्युनिष्ट पार्टीको नेतृत्व गरेर आएका प्रचण्ड अहिले अरुका अधिनमा रहने स्थिति बनेको छ। असन्तुष्टि र छटपटीको मुख्य कारण नै यही हो ।'
कहिले मेल, कहिले बेमेल
गएको भदौ ५ मा प्रधानमन्त्री ओली उपचारका लागि दोस्रो पटक सिंगापुर जाँदासम्म ओली र प्रचण्डबीच सम्बन्ध राम्रै थियो। यही मेसोमा पार्टी सचिवालय बैठकले नेकपा एकीकरण प्रक्रियाका केही महत्वपूर्ण निर्णयहरु गर्यो ।
त्यतिबेला प्रचण्ड ओलीसँग खुशी हुनुको मुख्य कारण थियो- पार्टी बैठकको अध्यक्षता गर्न पाउने आशा। ओलीले सिंगापुर उड्नुअघि राखेको सचिवालय बैठकमै उनले अबदेखि प्रचण्डले बैठक बोलाउन सक्ने बताएका थिए।
पार्टीको अध्यक्ष भए पनि उपाध्यक्षको जस्तो भूमिकामा रहेका प्रचण्ड त्यसपछि पार्टीको बागडोर आफ्नो हातमा आउने विश्वासमा थिए। यहीबीचमा ओली सिंगापुरमा रहेका बेला प्रचण्डले सचिवालयको बैठक बोलाएर केन्द्रीय कमिटीमा तीनजनालाई मनोनित गरे।
तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको करिब डेढ वर्षपछि एकपटक मात्र पार्टी बैठकको अध्यक्षता गर्ने मौका पाएका प्रचण्डले केन्द्रीय सदस्य नै मनोनित गरेपछि झस्किएका ओलीले त्यसपछि भने प्रचण्डलाई अध्यक्षता गर्न दिएनन्।
भदौ १८ गते बुधबार सचिवालयको बैठक छल्न सचिवालय सदस्य वामदेव गौतम र महासचिब विष्णु पौडेल प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे बुझ्न भन्दै सिंगापुर उडेपछि प्रचण्डको मनमा फेरि 'चिसो' पसको उनी निकटहरु बताउँछन्।
प्रधानमन्त्री ओली सिंगापुरबाट फर्केपछि पनि पार्टीको बैठक आफूले चलाउने अपेक्षा प्रचण्डको रहे पनि ओलीले त्यस्तो गर्न नदिएपछि उनी ओलीसँग चिढिँदै गए ।
'दुई अध्यक्ष रहेसम्म यस्तो हुन्छ'
२०७५ जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण हुँदा बनेको नयाँ पार्टी दुई अध्यक्षलाई जेट विमानका दुई पाइलट' भनिए पनि अहिले अवस्था 'एक जंगलमा दुई शेर' बनेको छ।
प्रचण्ड निकट मानिने नेकपा स्थायी कमिटी सदस्य हरिबोल गजुरेल पार्टीमा दुई अध्यक्ष रहँदासम्म यस्तो असन्तुष्टि भइरहने बताउँछन्।
उनले नेपाल समयसँग भने, 'लामो समय भयो पार्टीको बैठक भएको छैन। पार्टी र सरकार सञ्चालमा दुई अध्यक्षबीच खासै छलफल भएको देखिँदैन। त्यसैले पनि अध्यक्ष प्रचण्ड अलि असन्तुष्ट देखिनु भएको हो।'
उनले एउटा पार्टीमा दुई अध्यक्ष रहनु नै अमिल्दो भएको टिप्पणीसमेत गरे।
तर, ओली निकट मानिएका नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ भने दुई अध्यक्षबीच कुनै समस्या नभएको दावी गर्छन्। उनले नेपाल समयसँग भने, 'उहाँहरुबीच हार्दिकता छ, आज पनि हामीसँगै थियौं हार्दिकतापूवर्क छलफल भएको छ। त्यस्तो कुनै समस्या छैन।'
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४