सिराहा- हातहतियार, खरखजाना तथा डाँका मुद्दामा अदालतबाट कैद सजाय पाएर फरार दुई जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय, सिरहाको अदालतको फैसला कार्यान्वयन टोलीले हातहतियार तथा खरखजाना मुद्दामा जिल्लाको बरियारपट्टी गाउँपालिका–३ निवासी ४० वर्षीय कामेश्वर यादव र डाँका मुद्दामा फरार सिरहा नगरपालिका–६ निवासी २८ वर्षीय चन्देश्वर भनिने चन्दे महरालाई पक्राउ गरेको हो।
आफ्नै घरमा लुकिछिपी बसिरहेको गोप्य सूचनाका आधारमा दुवैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए। हातहतियार खरखजाना मुद्दामा जिल्ला अदालतबाट यादवलाई ६ महिना कैद र ६० हजार रूपैयाँ जरिवाना गरिएको थियो भने डाँका मुद्दामा फरार महरालाई अदालतबाट पाँच वर्ष ११ महिना ४ दिन कैद र दुई लाख ४७ हजार ३५० रूपैयाँ जरिवानाको फैसला भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवैलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालतमा पेश गरिने प्रहरी उपरीक्षक चतुर्वेदीले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४