शनिबार, साउन ३०, २०८३

आलम पक्राउ परेपनि त्रसित छन् पीडित परिवार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- राजधानीबाट प्रकाशित सोमबारका राष्ट्रिय दैनिक अखबारहरुले कांग्रेस नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमले मच्चाएको नरसंहारको विषयलाई नै प्राथमिकतामा पारेका छन् ।
 
आजको कान्तिपुर दैनिकले पीडित परिवार आलमको त्रासमा शीर्षकमा मुख्य समाचार छापेको छ । यस्तै आलमले नरसंहार मच्चाएको १८ दिनपछि बल्ल प्रहरीले मुचुल्का बनाएको पनि कान्तिपुरले खुलासा गरेको छ ।

त्यस्तै सर्वोच्च अदालतले आफ्नो आदेश कार्यान्वयन नभए ‘अवहेलनाको निवेदनबाट कारबाही गर्ने चेतावनी’ दिएपछि मात्रै रौतहट प्रहरीले सांसद मोहम्मद आफताब आलमलाई पक्राउ गरी अनुसन्धान थालेको पनि कान्तिपुरले खुलासा गरेकाे छ । उसले याे खबर महान्यायाधिवक्ता कार्यालयमै अड्काइयो अनुसन्धान शीर्षकमा छापेकाे छ । 
 
नयाँ पत्रिकाले आलम आतंकः २३ वकिल पक्षमा, तर पनि आलम थुनामा शीर्षकमा मुख्य समचार छापेको छ । उसले जिल्ला अदालतमा रौतहटमा न्यायाधीश र वकिलबीच भएको सवाल जवाफ पनि छापेको छ ।
 
अन्नपूर्ण पोस्ट्ले भने प्रधानमन्त्री केपीशर्मा ओलीसँग लिएको विशेष अन्तरवार्ताको खबरलाई मुख्य समाचार बनाएको छ। उसले सोभियत शासनजस्तो टेकोमा छैनौ हामी भन्ने शीर्षकमा खबर लेखेको छ । 

यस्तै नेत्रविक्रम चन्द विप्लव समुह सैन्य दस्त निर्माणको तयारीमा लागेको भनि प्रहरीले दाबी गरेको विषयलाई पनि अन्नपूर्णले प्राथमिकताका साथ छापेको छ ।
 
यसैगरि अन्नपूर्णले सत्तारुढ दल नेकपामा पूर्वएमाले र पूर्वमाओवादीका सांसद् मिल्न नसकेको विषयलाई पनि महत्वका साथ छापेको छ । अहिले पनि दलका पदाधिकारी पूर्ववत् कार्यालयमै बस्ने गरेको समाचारमा उल्लेख छ ।

नागरिक दैनिकले कैलाली र कञ्चनपुरका किसानको ३ सय ४८ हेक्टर जमिनमा धान नफलेको विषयलाई मुख्य समाचार बनाएको छ । सरकारले पञ्जिकृत गरेको गरिमा जातको धान नफल्दा ११ किसान पीडित बनेको समाचारमा उल्लेख छ ।

यस्तै राष्ट्रिय जनगणना २०७८ अघिल्लो पटकभन्दा २३३ प्रतिशतले खर्चिलो हुने विषयलाई पनि नागरिक दैनिकले प्राथमिकताका साथ छापेको छ । 

पीडित परिवारमा आलमको त्रास

कान्तिपुरमा प्रकाशित समाचारअनुसार १२ वर्षअघिको बम विस्फोट घटनामा कांग्रेस सांसद मोहम्मद आफताब आलमविरुद्ध किटानी जाहेरी दिएकाका परिवारहरू आफूमाथि जतिबेला जे पनि हुन सक्ने त्रासमा छन् ।

एक साताअघि पक्राउ परेका आलम कानुनी कारबाहीबाट उम्किए आफूहरूको ज्यान जोखिममा पर्ने भन्दै त्रासले पिरोलिएका हुन् ।

राजपुर फरदहवामा भएको विस्फोटमा छोरा पिन्टु भनिने त्रिलोकप्रताप सिंहलाई गुमाएका श्रीनारायण भन्छन्, ‘यतिका वर्ष अनेकन दबाब र धम्की सहेर न्यायका निम्ति लड्यौं । अब दोषी उम्के भने हामीले बाँच्न पाउँदैनौं ।’

श्रीनारायणको सरुअठास्थित घरमा शुक्रबार र शनिबार कान्तिपुरकर्मी पुग्दा सादा पोसाकमा प्रहरी परिचालित थिए । पिन्टुसँगै मारिएका ओसी अख्तरको परिवारलाई पनि सुरक्षा दिन जिल्ला प्रहरी कार्यालयले सादा पोसाकमा सुरक्षाकर्मी परिचालन गरेको छ । श्रीनारायणले घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही गर्न जोड दिए ।

ओसीका ससुरा समसुल मियाँले घटनाको छानबिन प्रभावित भए र कसैगरी दोषी उम्के आफूहरू गाउँमा बस्न नसक्ने अवस्था आउने बताए । ओसीकी आमाको न्याय खोज्ने क्रममै हत्या भएको र हत्याराहरू पहिचान हुन नसकेका हुनाले पनि उनीहरू त्रसित छन् । जिप्रका रौतहटका एसपी भूपेन्द्र खत्रीले भने पीडित परिवारको सुरक्षामा ध्यान दिइएको बताए ।

बम विस्फोटमा परेका ओसी र पिन्टुबाहेकका अन्य केही घाइते सीमावर्ती भारतका रहेको भन्दै प्रहरीले त्यसतर्फ पनि अनुसन्धान अघि बढाएको छ ।

प्रहरी स्रोतका अनुसार विस्फोटमा घाइते भएका केहीलाई आलमले नै भारतका विभिन्न अस्पतालमा उपचारको चाँजो मिलाइदिएका थिए । केहीलाई डर देखाएर भारततिर खेदिएको थियो । प्रहरीले उक्त घटनाका घाइतेको खोजी गरिरहेको छ । उक्त विस्फोटमा घाइते भई बाँचेका सर्लाहीका सफी अहमदलाई भने प्रहरीले स्वास्थ्य परीक्षणका निम्ति काठमाडौं पठाएको छ ।

विस्फोटमा परी सफीको आन्द्रा बाहिर निस्केको थियो । मारिने डरले उनी भाग्दै सीमावर्ती भारतीय सहर पुगी उपचार गराएर फर्केका थिए । प्रहरीले सफीको स्वास्थ्य परीक्षण प्रतिवेदनलाई घटनाको एउटा प्रमाणका रूपमा पेस गर्ने तयारी गरेको छ ।

के भयो अदालतमा ?

नयाँ पत्रिकामा प्रकाशित समाचारअनुसार बम विस्फोटका घाइतेलाई जिउँदै इँटाभट्टामा हालेर जलाएको आरोपमा पक्राउ परेका सांसद मोहम्मद अफ्ताव आलमले पहिलोपटक सरकारी वकिलको कार्यालयमा बयान दिएका छन् ।

जिल्ला अदालत रौतहटले अनुसन्धान गर्न पाँच दिनको म्याद थपेपछि उनी सरकारी वकिलसमक्ष बयान दिन राजी भएका थिए । जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालसमक्ष उनले साढे पाँच घन्टा लामो इन्कारी बयान दिएका छन् ।

आलमलाई प्रहरीले बयानका लागि आइतबार ३ बजे जिल्ला न्यायाधिवक्ताको कार्यालयमा पुर्‍याएको थियो । उनको बयान साँझ साढे ८ बजे मात्र सकिएको थियो । यसअघि आलमले सरकारी वकिल कार्यालयमा बयान दिन अस्वीकार गर्दै आएका थिए । पक्राउपछि आलमलाई जिल्ला प्रहरी कार्यालय रौतहटले बयानका लागि दुईपटक सरकारी वकिलको कार्यालय लगेको थियो । तर, उनले नमानेपछि बयान नलिई फर्काइएको थियो ।

विस्फोटका सम्बन्धमा १२ वर्षअघि नै बयान दिइसकेको भन्दै आलमले बयान दिन इन्कार गरेका थिए । आइतबार बहसपछि अदालतको आदेशमा साधारण तारेखमा छुट्ने आशामा थिए । तर, घटनाका घाइते ५९ वर्षीय सफी मोहम्मदले ज्यान मार्ने उद्योग र प्रहरीले विस्फोटक पदार्थ ऐनअन्तर्गत नयाँ मुद्दा दर्ता गरेपछि अदालतले आलमको म्याद थप गर्‍यो । त्यसपछि मात्रै आलम सरकारी वकिल कार्यालयमा बयान दिन बाध्य भएका हुन् । 

जिल्ला न्यायाधिवक्ता कटुवालसमक्ष आलमसँग १२ वर्षअघि भएको विस्फोटको घटना, त्यसको पृष्ठभूमि, विस्फोटमा ज्यान गुमाउनेहरू, प्रमाण नष्ट गरिएको घटनास्थल, शव दहन गरिएको इँटाभट्टा, शव बोकी लगिएको ट्र्याक्टर, शव स्कर्टिङ गर्न प्रयोग गरिएको सशस्त्र प्रहरीको भ्यान, त्यसमा सघाउने सशस्त्र प्रहरीका तत्कालीन एसपी रामकृष्ण लामा, प्रमाण नष्ट गर्न रातारात मर्मत गरिएको शेख इद्रिसको घर, घटनास्थल निरीक्षणका लागि पुगेका मानवअधिकार आयोग, इन्सेक र नेपाल बार एसोसिएसनका प्रतिनिधिलाई घटनास्थल जान रोक्नुको कारणलगायतका सम्बन्धमा प्रश्न गरिएको थियो । 

तर, न्यायाधिवक्ताले सोधेका विस्फोटसम्बन्धी सम्पूर्ण प्रश्नमा आलमले इन्कारी बयान दिएका छन् । उनले विस्फोटका कुनै पनि घटना नभएको दाबी गरेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।