काठमाडौं- उच्च अदालत पाटनले पूर्वसांसद गायत्री साहलाई मेडिसिटी अस्पतालबाट आफ्नो बच्चा जिम्मा लिएर उपस्थित हुन आदेश दिएको छ।
सात महिनाअघि जन्मिएको बालकको हालको अवस्थामै लिएर घर लैजानयोग्य रहेको पाइएकाले अस्पतालबाट बुझिलिएर अदालतमा उपस्थित हुन साह र अभिभावकलाई अदालतले आदेश दिएको हो।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताललाई तीन हप्ताभित्र निर्देशन दिइएकोमा वीरले असोज २९ गते बालकको स्वास्थ्य परीक्षणको रिपोर्ट अदालतमा बुझाएको थियो।
रिपोर्टमा बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेकोले डिस्चार्ज दिन मिल्ने व्यहोरा उल्लेख गरिएको थियो। ‘काठमाडौं कान्ति बाल अस्पतालका प्रमुख कन्सल्टेन्ट डा. पंकज राय र डा. रामहरि चापागाईंसहितको टोलीले बालकको स्वास्थ्य परीक्षण गर्दा हालको अवस्था सामान्य रहेकोले घर लैजान सकिने देखियो,’ आदेशमा उल्लेख छ।
अदालतका रजिष्ट्रार बाबुराम दाहालले असोज ३० गते उक्त आदेश भएको जानकारी दिए। पत्र बुझेको तीन दिनभित्र बुझेर बालकसहित उपस्थित हुन साहका नाममा आदेश भएको उनले बताए।
‘बालक जिम्मा लगाएर हक प्रचलन गराइ पाउँ’ भनी मेडिसिटी अस्पतालले उच्च अदालत पाटनमा मुद्दा दर्ता गराएको थियो। सो मुद्दामा अदालतले आदेश गर्दै असोज ८ गते बालकको स्वास्थ्य परीक्षण गर्न निर्देशन दिएको थियो।
आदेशमा ‘बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६५ (३) बमोजिम बालबालिकाको हक अधकारको प्रचलन गराउने प्रयोजनार्थ’ बच्चा बुझेर अदालतमा उपस्थिती हुन भनिएको छ।
अस्पतालको लापरबाहीले ‘डाउन सिन्ड्रोम’ शिशु जन्मिएको र बाँकी जीवनभरको उपचारको ग्यारेन्टी हुनुपर्ने भन्दै साह र उनका पति राजेश महतोले बच्चालाई मेडिसिटीबाट घर लैजान मानिरहेका थिएनन्। जन्मँदा ‘डाउन सिन्ड्रोम’ देखिएपछि शिशुको उपचार र जीवन रक्षाको जिम्मेवारी कसले लिने भन्नेमा साह र मेडिसिटी अस्पतालबीच लामो समयसम्म विवाद छ।
साहले गत फागुन २८ गते मेडिसिटी अस्पतालमा शिशुलाई जन्म दिएकी थिइन्। शिशु जन्मिँदा स्वास्थ्य ठीक थिएन। भारतमा रगत परीक्षण गर्न पठाएपछि शारीरिक विकास कम हुने रोग ‘डाउन सिन्ड्रोम’ पत्ता लागेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४