काठमाडौं- ज्यान मार्ने उद्योगमा किटानी जाहेरी परेपछि पक्राउ पूर्जी जारी गरिएका नेकपाका सांसद पार्वत गुरुङ काठमाडौं जिल्ला अदालतमा हाजिर भएका छन्।
जिल्ला अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले सांसद गुरुङ म्यादभित्रै अदालतमा उपस्थित भएको जानकारी दिए। गुरुङको अदालतमा बयान सुरु भएको र आजै थुनछेक बहस हुने उनले जानकारी दिए।
सांसद गुरुङविरुद्ध ज्यान मार्ने उद्योगमा बैशाख २९ गते नै जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियो। जिल्ला अदालत काठमाडौंले भदौ १२ मै अदालतमा उपस्थित हुन सांसद गुरुङको नाममा पत्र जारी गरेको थियो।
०७४ को स्थानीय तहको निर्वाचनपछि तत्कालीन नेकपा माओवादीका कार्यकर्ता दोलखाका धीरध्वज खड्कामाथि काठमाडौंको गौशालामा सार्वजनिक यातायातमा आक्रमण भएको थियो।
खड्काले संघीय संसदका सदस्य गुरुङसहितले आफ्नो हत्या प्रयास गरेको भन्दै गौशाला प्रहरीमा किटानी जाहेरी दिएका थिए। सोही घटनामा सांसद गुरुङसहित सात जनाविरुद्ध मुद्दा दर्ता भएको थियो।
अदालतले उनलाई कात्तिक १४ गतेसम्मको म्यादसहितको पक्राउ पूर्जी जारी गरेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४