शनिबार, साउन १२, २०८१

अब बागमतीमा स्वच्छ पानी बग्ने !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
Metro Mart
vianet
काठमाडौं- उपत्यकाको सभ्यताको स्रोत बागमतीमा हिउँदमा पनि स्वच्छ पानी बगाउन शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्रको धापमा निर्माण सुरु गरिएको बाँधको ७५ प्रतिशत काम सम्पन्न भएको छ।

एसियाली विकास बैंकको करीब ५१ करोड रूपैयाँ ऋण सहयोगमा निर्माण भइरहेको बाँध आगामी वैशाख पहिलो सातामा सकिनेगरी काम भइरहेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ। २४ मिटर उचाइको बाँधमा वर्षातमा परेको पानी जम्मा गरिनेछ। निर्माण सम्पन्न भएपछि आगामी वर्षामै बाँधमा पानी संकलन सुरु गरिनेछ। लगत्तै परीक्षण पनि गरिनेछ।

वर्षातमा जम्मा गरिएको पानी अर्को वर्ष हिउँदमै बागमतीमा बगाउने गरी तयारी सुरु भएको समितिका आयोजना प्रमुख लीलाप्रसाद ढकालले बताए। ‘तीन महिनाभित्रमा गोकर्णबाट पशुपतिनाथसम्मको बागमतीको पानीलाई हातले चलाउन सकिने बनाउन समिति लागिपरेको छ, साप्ताहिक रूपमा भइरहेको बागमती सफाइ महाअभियानलाई पनि थप प्रभावकारी रुपमा अघि बढाइनेछ,’ उनले भने।

आयोजना प्रमुख ढकालसहितको समितिका प्राविधिकको समूहले शनिबार बाँध निर्माणस्थलको स्थलगत अनुगमनसमेत गरेको छ। बाँध निर्माणसँगै बागमती सौन्दर्यीकरणमा रोकिएको काम पनि सुरु गर्ने पहल भइरहेको अधिकार सम्पन्न बागमती समितिका सञ्चालक सदस्य माला खरेलले बताइन्।

गोकर्णेश्वर नगरपालिका-१ स्थित धापमा बनिरहेको बाँधमा आकाशेपानी जम्मा गरी आगामी वर्षको हिउँददेखि प्रतिसेकेण्ड ४० लिटर पानी बागमतीमा बगाइने भएको छ। बाँधमा ८ लाख ५० हजार क्युविक लिटर पानी अटाउँछ। बाँध भरिन चार वर्ष लाग्ने प्रारम्भिक अनुमान गरिएको छ।

बाँध निर्माण सिँचाइ विभागको ठेक्कामा गुञ्जाउ–लामा–रमण जेभीले गरिरहेको छ। निर्माण कम्पनीका इञ्जिनियर रुपेशकुमार साहले निकुञ्जभित्र गर्नुपर्ने काम भएकाले सुरुमा केही ढिलाइ भए पनि अब थप गरिएको ६ महिनामै सक्नेगरी काम भइरहेको बताए। काम सम्पन्न गरी आगामी वर्षात्मै यहाँ परीक्षण सुरु गरिनेछ।

पर्यटन प्रवर्द्धनमा बाँध

बाँध निर्माणपछि यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने सुन्दरीजलका स्थानीय पर्यटन व्यवसायी नारायण श्रेष्ठले बताए। निकुञ्जभित्र वरिपरि हरियाली डाँडाकाँडा एवं पारिपट्टि हिमालको रमणीय दृश्य देखिने भएकाले पर्यटकलाई यस स्थलले आकर्षित गर्ने गरेको छ।

पर्यटकीय क्षेत्रका रूपमा स्थापित सुन्दरीजल–चिसापानी क्षेत्रलाई चिनाउन बाँधले पनि योगदान गर्ने यहाँका पर्यटन व्यवसायीको विश्वास छ। बाँधबाट चिसापानी तीन किमीको दूरीमा छ। सुन्दरीजलबाट निकुञ्जभित्रको १८ किमी यात्रा गरेपछि बाँध स्थल पुग्न सकिन्छ।

हाल बाँध नजिकैबाट काठमाडौं, सिन्धुपाल्चोक र नुवाकोटको संगमस्थलमा रहेको पर्यटकीयस्थल जाने सडक छ। यो सडकबाट दैनिक सयौं पर्यटक हेलम्बु, गोसाइँकुण्ड, मेलम्चीलगायत स्थानमा जान्छन्। यो मार्गबाट पर्यटक पैदल एवं सवारी दुवै माध्यमबाट जाने गरेका छन्। 

लाङटाङ राष्ट्रिय निकुञ्जमा पदमार्गका रूपमा जाने बाह्य पर्यटकसमेत यही सडक प्रयोग गर्छन्। यसैगरी चिसापानी–झुले–नगरकोट पदमार्गसमेत यही बाटोबाट पुग्न सकिन्छ। यो मार्ग हिँड्ने विदेशी एवं स्वदेशी पर्यटकले हाल निर्माण भइरहेको बाँधस्थलममा सेल्फी खिचाउने गरेका छन्।

हाल मानव निर्मित बाँध हेर्न कुलखानीमा पर्यटकको भीड लाग्ने गरेको छ। धापको बाँध निर्माण सम्पन्न भएपछि रत्नपार्कबाट करिब ३३ किमी दूरी पार गरी यहाँ आउन सकिन्छ।

हिउँदमा बागमतीमा स्वच्छ पानी

वर्षातमा पानीको बहावले बागमती कम फोहर देखिने गरेको छ। हिउँदमा भने पानीको बहाव घट्ने गरेकाले नदी किनार दुर्गन्धित हुने गरेको छ। बागमतीलाई स्वच्छ बनाउने उद्देश्यले गुह्येश्वरीमा निर्माण भइरहेको ढल पानी प्रशोधन केन्द्र निर्माण पनि अन्तिम चरणमा पुगेको छ।

निर्माण सकी हाल ढल पानी प्रशोधनको परीक्षण भइरहेको छ। अत्याधुनिक यन्त्रबाट यहाँ ढल प्रशोधन गरी बागमती पठाइनेछ। यो केन्द्रबाट दैनिक तीन करोड २४ लाख लिटर ढल पानी प्रशोधन गरी स्वच्छ बनाइनेछ।

केन्द्रको शनिबार नै खानेपानीमन्त्री विना मगरले अनुगमन गरेकी छन्। सो अवसरमा उनले पुससम्म केन्द्र पूर्णरुपमा सञ्चालनमा ल्याउनेगरी काम गर्न निर्देशन दिइन्। निकुञ्जभित्रको धाप बाँधको एक किलोमिटर मुनि अर्को ९० मिटर उचाइको बाँध बनाउन वातावरणीय प्रभाव मूल्यांकन भइरहेको छ। दुवै बाँधको पानी निकुञ्जको नागमती हुँदै सुन्दरीजलस्थित सुन्दरीमाईको मन्दिर नजिकै बागमतीमा मिसाइनेछ। 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।